काठमाडौं । वैज्ञानिकहरूले फेसबूक पोस्टबाट डिप्रेसन र लागूऔषध दुर्व्यसन पत्ता लगाउन सफलता प्राप्त गरेका छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार, प्रयोगकर्ताको प्रोफाइल हेरेर ऊ कस्तो रोगले ग्रस्त छ भन्ने बताउन सकिन्छ । उसको समस्या कति गम्भीर छ भन्ने पनि पत्ता लाग्छ । यसका लागि उसको उमेर र लिंग पनि सोधिरहनुपर्दैन ।
अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ९९९ मानिसमा यो अनुसन्धान गरे । उनीहरूको फेसबूक प्रोफाइलमा ९ लाख ४९ हजार ५३० पोस्टबाट दुई करोड शब्द छानियो । यी शब्दको आधारमा
अनुसन्धानकर्ताहरूले २१ किसिमका समस्या पहिचान गरे । तिनमा गर्भवती अवस्था, पेटसम्बन्धी समस्या, छालाको समस्या, छटपटी, मोटोपन र लागूपदार्थ दुर्व्यसन समावेश थिए ।
रोगीको फेसबूक डेटाको सहायताले अनेकौं कुराको सटकी जानकारी पाउन सकिन्छ । फेसबूक पोस्टमा ड्रिंक, ड्रंक र बोतल जस्ता शब्दले रक्सीको लतको संकेत दिन्छ । अनि डम्ब, बुलशिट जस्ता शब्दको अत्यधिक प्रयोगले लागूऔषध लिने काम तथा मानसिक समस्याको संकेत गर्छ ।
पोस्टमा स्टमक, हेड र हार्ट जस्ता शब्दको प्रयोगले रोगी मनोवैज्ञानिक समस्या भोगिरहेको देखायो । अनि गड, फेमिली र प्रे जस्ता शब्द प्रयोग गर्ने रोगीमा मधुमेहको समस्या देखियो ।
यो विश्लेषण कत्तिको सही छ भनी जान्नका लागि अनुसन्धानमा संलग्न मानिसहरूको मेडिकल हिस्ट्री पनि हेरियो । अनुसन्धानकर्ताहरूले अनुमान सही भएको पाए । भनेपछि रोगहरू पत्ता लगाउन यो तरिका सही ठहरिएको छ ।एजेन्सी