गायक राजेशपायललाई दिक्तेल रुपाकोट मझुवागढी नगर पुरस्कार

Halesi
0 Shares

खोटाङ, १८ असार ः ‘राई ईज किङ’को उपाधि प्राप्त गायक राजेशपायल राईलाई रु एक लाख राशीको पुरस्कार सहित सम्मान गरेको छ । खोटाङको बुइपामा जन्मनुभएका भर्सस्टाईल गायक राजेशपायलाई गृहनगर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बुधबार नगद सहित सम्मान गरेको हो ।

गायनको माध्यमबाट नगरपालिका तथा जिल्लालाई देश÷विदेमा चिनाएको भन्दै गायक राजेशपायललाई उक्त राशीको ‘नगर पुरस्कार’ प्रदान गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । गायक राजेशपायललाई बुधबार आयोजना गरिएको दोस्रो नगर दिवसको अवसरमा पुरस्कृत तथा सम्मान गरिएको हो ।

नगर दिवसको अवसरमा उपस्थित हुन नसक्नुभएका गायक राजेशपायललाई विशेष कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिने जनाइएको छ । नगर दिवसको अवसरमा अन्य विविध विद्याका उत्कृष्ट व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरिएको छ ।

नगरपालिकाले नगरभित्रका उत्कृष्ट विद्यालयको रुपमा पञ्च मावि दिक्तेललाई नगद रु ५० हजार सहित प्रमाणपत्रले पुरस्कृत गरेको छ । यस्तै, विद्यालय सुधार सम्बन्धी उत्कृष्ट भूमिका निर्वाह गर्नुहुने सरस्वती मावि दिक्तेलका प्रधानाध्यापक ध्यानबहादुर राईलाई नगद रु ५० हजार राशीको पुरस्कार प्रदान गरिएको छ ।

उत्कृष्ट उद्यमीतर्फ पाउरोटी उद्योगी अशोक राईलाई रु २५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै, टोल सुधार सम्बन्धी उत्कृष्ट कार्य गर्ने दिक्तेलबजारस्थित बैङ्कचोक टोल सुधार समिति र निर्माण उपभोक्ता समितितर्फ उत्कृष्ट कार्य गर्ने साप्सुधाप पर्यटन विकास उपभोक्ता समितिलाई नगद रु २५÷२५ हजारका साथमा प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

नगरपालिकाले केही दिनअघि नतिजा आएको एसईई तथा ८ कक्षाका परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्र तथा छात्रालाई जनही रु पाँच÷पाँच हजारका दरले पुरस्कृत गरेको छ । पुरस्कृत एवम् सम्मानित व्यक्ति तथा संस्थालाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।

दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित उद्घाटन कार्यक्रममा नगरले वर्षभरि गरेको विकास÷निर्माण लगायत विभिन्न गतिविधिका विषयमा समिक्षा गरिएको छ । कार्यक्रममा पूर्व सभाषदद्वय समिता कार्की ‘अस्मिता’, पाँचकर्ण राई ‘पिके’, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, अन्य जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय लगायतका सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया