खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा फैलिएको झाडापखाला नियन्त्रण उन्मुख भएको छ । पाँच दिन यता साविकको चिसापानी–२, ४, ५ र ६ मा फैलिएको झाडापखालाको प्रकोप क्रमशः नियन्त्रणमा आउन थालेको हो । प्रभावित क्षेत्रमा स्वास्थ्य शिबिर सञ्चालन गरेपछि शुक्रबार गाउँपालिका उपाध्यक्ष बिमला राईको नेतृत्वमा गरिएको स्थलगत अध्ययनकाक्रममा झाडापखाला नियन्त्रण उन्मुख पाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक पवन पोखरेलले बताउनुभयो ।
झाडापखालालाई महामारीको रुप लिनबाट रोक्नका लागि गाउँपालिकाले बिहिबार आयोजना गरेको स्वास्थ्य शिबिरमा झाडापखालाका ४५ बिरामीको उपचार गरिएको थियो । कडा जलवियोजन भएका बिरामीको अवस्थामा पनि क्रमशः सुधार आइरहेको पोखरेलले बताउनुभयो ।