काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ । एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । भगवान् विष्णु शयन गर्नुहुने चार महीनालाई चतुर्मासा पनि भनिन्छ ।
एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महीनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महीनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।