खोटाङ, १३ साउन ः धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा एक वर्षको अवधिमा भेटी बापत रु साँढे सतासी लाख भन्दा बढी रकम सङ्कलन भएको छ । गत वि.सं. २०७५ साल असार–१ गतेदेखि वि.सं. २०७६ साल असार मसान्तसम्ममा नेपाली रु ८७ लाख ६६ हजार २७४ भेटी बापतको रकम सङ्कलन भएको हो ।
हलेसी सूचना केन्द्रले आज (सोमबार) सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतीय मुद्रा रु २७ हजार ८०, अमेरिकन डलर रु ४५ र सिङ्गापुर डलर रु दश सङकलन भएको छ । हिन्दु, बौद्ध र किरात किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा सुन ११ दशमलव ५७ ग्राम र चाँदी ९२ तोला ८९ लाल जम्मा भएको छ ।
सङ्कलित भेटीबाट बसाहाथान पोखरी निर्माण, वेवसाइट निर्माण, सूचना डिस्प्ले बोर्ड निर्माण, मन्दिर व्यवस्थापन समितिको भवनको भ¥याङ तथा रेलिङ निर्माण, मन्दिरका लागि खानेपानी ट्याङ्की निर्माण, मन्दिर परिसर रङरोगन, कर्मचारी तलब तथा अतिथि सत्कारमा रु ४२ लाख ६८ हजार २६७ खर्च भएको केन्द्रका निमित्त प्रमुख सयन्द्र राईले बताउनुभयो । हलेसीको स्तरोन्नति तथा कर्मचारीलाई तलब दिएर बचेको रकम रु ४४ लाख ९८ हजार ७ हलेसीस्थित माछापुछ्रे बैङ्कमा रहेको हलेसी मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको जनाइएको छ ।
हलेसी आउने भक्तजन तथा पर्यटकले चढाउने भेटीलाई व्यवस्थित गर्न मन्दिर व्यवस्थापन समिति, हलेसी विकास समिति, नगरपालिका र इलाका प्रहरी कार्यालयका प्रतिनिधिले एक÷एक वटा चाँबी राख्ने गरेका छन् । एउटा पक्षले मात्र मन्दिरको चाँबी राख्दा पादर्शी नहुने भएकाले चार जना प्रतिनिधिसँग चाँबी राख्ने व्यवस्था मिलाइएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताउनुभयो ।
मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा अहिले बोलबम मेला लागेको छ । महिना दिनसम्म मेला लाग्ने हलेसीमा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, बिराटनगर, ईलाम तथा भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चिनको तिब्बत लगायतबाट दर्शनार्थी तथा भक्तजन आएका छन् ।
मेलालाई व्यवस्थित गर्न मन्दिर व्यवस्थापन समिति, हलेसी विकास समिति, नगरपालिका र इलाका प्रहरी कार्यालय खटिएका छन् । लगातारको वर्षाका बाबजुद्ध पनि हलेसी आउने भक्तजन तथा दर्शनार्थीको संख्या उल्लेख्य रहेको जनाइएको छ ।
संघीय सरकारको मातहतमा रहेको त्रिधार्मिकस्थल हलेसीमा अहिले जीर्णोद्धारको काम समेत तीव्रगतिमा भइरहेको छ । संघीय सरकार अन्तरगत पर्यटनमन्त्रालय र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त रु ८२ लाख लगानीमा प्रतिक्षा कन्ट्रक्शन प्रा.लि. काठमाडौँले जीर्णोद्धारकाको काम जिम्मा लिएको हो ।
वि.सं. २०४४÷२०४५ सालमा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएको सिँढी, शिवलिङ्गलाई घेरिएको सिमेन्टको पिल्लर, ध्यान तथा पूजाअर्चना गरिने ठाउँ लगायतमा उक्त सिमेन्ट हटाएर प्राकृतिक रुपले नयाँ संरचना निर्माणको काम भइरहेको छ । शिवलिङ्गलाई घेरिएको सिमेन्टको पिल्लर हटाएर तामाको खम्बा राखिएको छ ।
दर्शनार्थी र पर्यटकको बाह्रै महिना उत्तिकै घुइँचो लाग्ने हलेसीको समग्र विकासका लागि यस वर्ष रु ८० लाख बजेट विनियोजन भएको छ । धार्मिक रुपले मात्र नभइ प्राकृतिक रुपले समेत प्रसिद्ध हलेसीको गुरुयोजना निर्माणको काम समेत भइरहेको छ ।
गुरुयोजना निर्माणका लागि प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय विशाल भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको छ । भट्टराईको नेतृत्वमा बनेको समितिले अहिले विज्ञसँगको सल्लाहमा हलेसीको दीर्घकालीन गुरुयोजना निर्माणको काम गरिरहेको जनाइएको छ ।