‘कन्चन गला लिएर उदाइन् खोटाङकी बाह्र वर्षीया कन्चन’

Halesi
0 Shares

खोटाङ, १४ साउन ः नेपाली साँगीतिक दुनियाँमा ठूलो हिस्सा ओगट्न सफल खोटाङले फेरि अर्की एक नवप्रतिभालाई जन्माएको छ । ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलम जन्मिएकी बाह्र वर्षीया कन्चन राई रावा जस्तै कन्चन आवाजका साथै जादुमयी गायकी गला लिएर साँगीतिक क्षेत्रमा उदाएकी छिन् । राम्ररी मुख नलाग्दादेखि नै गीत गाउन थालेकी कन्चनले हालसम्म आफ्नो गला निख्खर, तिख्खर र सरस बनाइसकेकी छिन् । जिल्लाब्यापी गायन प्रतियोगिता खोटाङ आईडल र हलेसी साईनो स्टारमा गायन खुबी प्रदर्शन गर्दै एकाएक दर्शक तथा श्रोताका मनमा बसेकी कन्चनले हालै मात्र एउटा गीत रेकर्ड गराएकी छिन् । कन्चनको कला, गला, मेहनत, त्याग तथा समर्पणभरि सम्भावना पहिल्याएको साईनो कला केन्द्रले निःशुल्क सँगीत सिक्ने मौका दिएर उनको साँगीतिक बाटो फराकिलो बनाउन सहयोग गरेको हो । गायक तथा सँगीतकार पदम थुलुङ, समाजसेवी दिनेश राई लगायतले कन्चनको आवाजमा ऐतिहासिक रुपमा पहिलो गीत रेकर्डका लागि आर्थिक तथा व्यवस्थापकीय रुपमा भूमिका निभाउनुभएको छ । अन्ततः प्रमोद श्रेष्ठको शब्द, पदम थुलुङको सँगीत तथा ऐरेञ्जमेण्टमा ललितपुरस्थित ओपेरा डिजिटल रेकर्डिङ स्टुडियोमा ‘मेरो प्यारो बाबा, मेरी प्यारी आमा..’ बोलको गीत रेकर्ड भएको छ । भर्खरै रेकर्डिङ सकिएको उक्त गीत केही दिनमा नै सार्वजानिक हुने सँगीतकार थुलुङको बताउनुभएको छ । कन्चनको गायकी नेपाली साँगीतिकजारमा राम्ररी बिक्न सक्ने गुणस्तरको भएको सँगीतकर्मीहरुले बताएका छन् । छोरीको प्रतिभालाई उजागार गर्न कुनै कसर बाँकी नराख्ने बुबा गुणराज राईले बताउनुभयो । कक्षा–९ मा पढ्दै गरेकी कन्चनले आफू गीतसँगीतबाटै अघि बढ्ने लक्ष्य रहेको बताएकी छिन् । एसइईको परीक्षा दिनासाथ काठमाडौँ छिरेर साँगीतिक दुनियाँमै आफ्नो भविष्य खोज्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया