खोटाङ ः राष्ट्रिय युवा सङ्घ नेपालका सहअध्यक्ष रमेश पौडेलले बिरुवा रोपेर आफ्नो जन्मदिन मनाउनुभएको छ । आफ्नो गृह जिल्ला खोटाङ आउनुभएका सहअध्यक्ष पौडेलले जिल्ला समन्वय समिति खोटाङको प्राङ्गणमा सिन्कौलीको बिरुवा रोपेर आफ्नो ३८ औँ जन्मदिन मनाउनुभएको हो ।
सरकारले शुरु गरेको वृक्षरोपण गर्ने अभियानलाई सहयोग पु¥याउने उद्देश्यका साथ आफूले पनि जन्मदिनको अवसर पारेर बिरुवा रोपेको सहअध्यक्ष पौडेलले बताउनुभयो । “अब हामीले जन्म दिनको अवसरमा केक काट्ने, वाईनका बोत्तल फोर्ने जस्ता विदेशी सँस्कृतिलाई निरुत्साहित गर्नुपर्छ”, उहाँले भन्नुभयो, “हरेक काममा फरक शैली अपनाइमा मात्र देश समृद्धिको बाटोमा जानेछ ।”
तत्कालीन नेकपा एमालेको भातृ संगठन युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष समेत रहनुभएका सहअध्यक्ष पौडेलले आफ्ना राजनीतिक अग्रजहरु तथा बुबाआमालाई सम्झदै देश र जनताको पक्षमा निरन्तरता लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्नो जन्मदिन गृह जिल्लामा मनाउन पाउँदा निक्कै हर्षित भएको बताउनुहँुदै सहअध्यक्ष पौडेलले जनताको सेवामा जीवनभर लागि रहने पनि प्रतिबद्धता जनाउनुभयो ।
युवा माझ लोकप्रिय रहनुभएका सहअध्यक्ष पौडेलले बिरुवा रोपेपछि प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराई र पार्टी अध्यक्ष देवान किराती ‘पृथ्वी’ले पानी हालेर शुभकामना दिनुभयो । जन्म दिनको शुभकामना दिनुहुँदै सांसद भट्टराईले बिरुवालाई जसरी रोपेर पानी हाल्यौँ सहअध्यक्ष पौडेललाई त्यसरी नै अगाडि बढाउने बताउनुभयो ।
जन्मदिनको अवसरमा देश तथा विदेशमा रहेका नेपालीले सहअध्यक्ष पौडेललाई सामाजिक सञ्जाल फेसबुक तथा फोन मार्फत शुभकामना दिदै देश र जनताको पक्षमा निरन्तर लाग्न आग्रह समेत गरेका छन् । कार्यक्रमको आयोजना युवा सङ्घ नेपाल खोटाङ, अनेरास्ववियु खोटाङ र प्रेस संगठन नेपाल खोटाङले संयुक्त रुपमा गरेको थियो ।