प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ः मकै जोनको बजेट रु अढाई करोड

Halesi Khabar
0 Shares

खोटाङ, २९ भदौ ः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यक्रमका लागि खोटाङमा चालु आर्थिक वर्ष रु अढाई करोड बजेट प्राप्त भएको छ । परियोजनाका लागि चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि रु दुई करोड ५० लाख छ हजार बजेट प्राप्त भएको हो ।

दिक्तेलस्थित होटल थ्री ब्रदर्समा आइतबार आयोजित बजेत तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा कृषि सम्बन्धी कार्यक्रमका लागि रु एक करोड ८८ लाख आठ हजार तथा सञ्चालनतर्फ रु ६१ लाख ९८ हजार बजेट खर्च गरिने प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यालय खोटाङका निमित्त प्रमुख ध्रुवकुमार कार्कीले बताउनुभयो । मेसिनरी औजार उपकरण मर्मत सम्भार तालिमका लागि रु दुई लाख, क्रप कटिङका लागि १रु ८ हजार, आकस्मिक बाली संरक्षण सेवाका लागि रु एक लाख, कृषि चुन वितरणका लागि रु दुई लाख, भकारो सुधारका लागि रु नौँ लाख, बजार प्रवद्र्धन तथा अन्तरक्रिया गोष्ठीका लागि रु ७५ हजार बजेट खर्च गरिने जनाइएको छ ।

प्रतिफलमा आधारित प्रोत्साहन अनुदानका लागि रु दश लाख, चक्लाबन्दीमा आवद्ध भइ खेती गर्ने कृषक अनुदानका लागि रु २३ लाख, जोन सुपर जोन कार्यक्रममा लक्षित बालीहरुको बीजवृद्धि अनुदानतर्फ रु पाँच लाख, मकै सुकाउने सिल्पोलिङ त्रिपाल वितरणका लागि रु पाँच लाख, बीउ प्रशोधन प्लान्ट खरिद तथा जडानका लागि रु ३९ लाख बजेट विनियोजन भएको छ । कार्यालयका अनुसार कस्टम हायरिङ सेन्टर स्थापना तथा सञ्चालनका लागि रु पाँच लाख, साना मेशिनरी औजार उपकरणका लागि रु २० लाख, प्लाष्टिक पोखरी निर्माणका लागि रु १२ लाख, कोशेली घर स्थापना तथा सञ्चालनका लागि रु सात लाख लगायत विभिन्न २५ शीर्षकमा बजेट खर्च गरिने निमित्त प्रमुख कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई जनताले महशुस गर्नेगरि कार्यान्वयनमा लैजान कर्मचारीलाई निर्देशन दिनुभयो । प्रदेशसभा सदस्य पासाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी श्याम राई, कार्यक्रम सञ्चालन भएको क्षेत्रमा गठन गरिएको कृषक समूह लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया