जनवादी गायक जीवन शर्मा असोज ११ गते दिक्तेल आउने

Halesi Khabar
0 Shares

खोटाङ, ९ असोज ः जनवादी गायक जीवन शर्मा दिक्तेल आउने हुनुभएको छ । पारिजात स्मृति प्रतिष्ठान तथा प्रगतिशील लेखक सङ्घ खोटाङले गर्ने विचार गोष्ठीका साथै विविध साँस्कृतिक तथा साहित्यिक कार्यक्रमका लागि जनवादी गायक शर्मा असोज ११ गते आइतबार खोटाङको दिक्तेल आउने हुनुभएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा पहिलो पटक जनवादी गायक शर्मालाई खोटाङ ल्याउने निर्णय गरिएको प्रगतिशील लेखक सङ्घ खोटाङका अध्यक्ष चित्रकुमार सुवेदीले बताउनुभयो । “जिल्लामा हुने अन्य कार्यक्रम भन्दा फरक बनाउने प्रयास हामीले गरेका छौँ”, उहाँले भन्नुभयो, “कार्यक्रममा जनवादी गायक शर्माको विशेष प्रतुति रहनेछ ।”

दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन हुने कार्यक्रममा सरल सहयात्रीको शिखरको ढुङ्गा पुस्तकको परिचर्चा समेत गरिने आयोजकले जनाएको छ । सिमली छायाँमा बसी, छेकेर छेकिन्न, रोकेर रोकिदैन, चाहिदैन मलाई सिसाको महल लगायतका सयौं जनवादी गीतमा उहाँले स्वर दिनुभएको छ ।

वि.सं. २०१६ चैत २६ गते बाग्लुङमा जन्मनुभएका शर्मा दर्शन र राजनीतिशास्त्रमा स्नातक, अङ्ग्रेजी र मानवशास्त्रमा एम.ए गरेर पनि साधारण जीवन बिताइरहनुभएको छ । जनवादी गायक शर्माले २०४७ सालमा जनसाँस्कृतिक योद्धा सम्मान पाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया