खोटाङ, १७ कातिक । केपिलासगढी गाउँपालिका प्रसुतिगृह (वर्थिङ सेन्टर)युक्त गाउँपालिका बनेको छ । सात वटा वडा रहेको सो गाउँपालिकाको वडा–३ बास्पानीस्थित स्वास्थ्यचौकीमा प्रसुतिगृह स्थापना गरेर सञ्चालनमा ल्याइएसँगै केपिलासगढी गाउँपालिका प्रसुतिगृहयुक्त गाउँपालिका बनेको हो ।
बास्पानीमा स्थापना गरिएको सुविधायुक्त प्रसुतिगृह शनिबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र प्रदेशसभा सदस्य राजन राईले संयुक्त रुपमा ब्यानर खोलेर उद्घाटन गर्नुभएको छ । अमेरिकी संस्था डि.टु.एन. फाउण्डेसनको रु ५८ लाख र स्थानीयवासीको २० प्रतिशत श्रमदानबाट प्रसुतिगृहको भवन निर्माण गरिएको हो ।
विदेशी संस्थाको लगानीमा निर्माण गरिएको प्रसुतिगृह सहितको स्वास्थ्यचौकी भवन आठ कोठे रहेको छ । बाक्सिला स्वास्थ्यचौकीमा मात्र प्रसुतिगृह सञ्चालनमा रहेको गाउँपालिकामा स्थानीय सरकार गठनपछि सबै स्वास्थ्यचौकीमा तालिम प्राप्त दक्ष प्रसुतिकर्मी नियुक्ती, सुत्केरी गराउने साधन, औषधिको व्यवस्था गरेर प्रसुतिगृह स्थापना गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो ।
सुत्केरी गराउनेक्रममा ज्यान गुमाउने आमाको जीवनरक्षाका लागि हरेक वडामा प्रसुतिगृह स्थापना भएपछि सो गाउँपालिकावासी हर्षित बनेका छन् । दुई नगरपालिका र आठ गाउँपालिकागरि दश स्थानीय तह रहेको जिल्लामा केपिलासगढी गाउँपालिकासँगै प्रसुतिगृहयुक्त स्थानीय तहको संख्या तीन पुगेको छ ।
यसअघि जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी चुवाचुङ नगरपालिका र दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सबै वडामा प्रसुतिगृह स्थापना गरेर आफ्नो नगरपालिका र गाउँपालिकालाई पूर्ण प्रसुतिगृहयुक्त क्षेत्र घोषणा गरेको थियो । जिल्लाको सबैभन्दा धेरै वडा रहेको स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भने अहिलेसम्म नौँ वटा वडामा मात्र प्रसुतिगृह स्थापना गरिएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको सो नगरपालिकाको १५ वडामध्ये २,४,५,६,८ र १४ मा अहिलेसम्म पनि प्रसुतिगृह स्थापना गरिएको छैन । बाँकी रहेको छ वटा वडामा यसै वर्ष स्थापना गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख महन राउतले बताउनुभयो ।