भीम राई
किरात सभ्यता हो । इतिहास हो । सृष्टिको आदिमकाल हो । यसमा कसैले दुईमत पालिरहनु पर्ने कुनै जरुरी छैन । यी कुराहरुको बारेमा किराती सँस्कार र सँस्कृतिकले पुष्टि पार्छ । इतिहासको तथ्यहरु लेख्यरुपमा उति सारो नपाइए पनि प्रयोग र प्रचलनमा रहेका सँस्कारहरुलाई हेर्दा विश्वास गर्न लायक छ । किरातीहरुमा विभिन्न थरगत विविधता छ । यद्यपि, यी सबै किरातहरुले मान्दै आएका प्रचलनहरु समान छन् ।
मृत्युमा होस या जन्ममा यानेकी सुःखमा होस या दुःखमा । कुनै शास्त्रमा अनुबन्धित नियम तथा कानून नभएपनि पहिलेदेखि चलिआएका रीति सँस्कारमा अन्य समुदाय जस्तै किरात समुदाय पनि सम्पन्नशाली छ । परम्परालाई रुढीवाद देख्ने नजरका कारण केहि त्यस्ता गम्भिर गल्तीहरु भने अवश्य भइरहेका छन् हाम्रो समाजमा । प्रयोगलाई दुरुपयोग गरेकै कारण यसलाई रुढीवाद भनिएको हो । समाजलाई अनावश्यक हो भन्ने तर्क अगाडि सार्ने गरिएको छ । मर्चाको उत्पादनलाई एकापक्ष यो खत्तम हो भनिरहनु र अर्कोपक्षले यो सबैभन्दा उत्तम हो भनिरहनु भन्दा पनि योसंँग जोडिएका केहि वैज्ञानिक कारणहरु सहित तर्क गर्दा सान्दर्भिक हुन जान्छ ।
जस्तो कि किरात समुदायले प्रयोग गर्ने मर्चा (जाँड पकाउने औषधि) का विषयमा कुरा गरौँ । खाद्यन्न अर्थात अन्नलाई उसिनेर मर्चा मोलेर राख्दा जाँड बन्छ । जाँडलाई उमालेर बनेको वाफ चिस्याउँदा रक्सी बन्छ । रक्सी खाँदा मान्छेलाई मात लाग्छ । मात लागेपछि अस्वस्था के हुन्छ ? त्यसैले यो खराब हो ।
साधरणता ः आममान्छेले बुझ्ने बुझाउने कुरा यहि हो । तर यी सबै प्रकृयाको शुरुवात गर्ने औषधि मर्चा के हो ? प्रश्न उठाइएको पाइदैन । मर्चा किराती अनुसन्धानको औषधि हो । मुन्दुममा समावेश गरिएको पवित्र जल हो । जसरी हिन्दु धर्ममा सुनपानी तथा गहुँत पानीलाई पवित्र तथा शुद्ध बनाउने जलका रुपमा लिइन्छ । त्यस्तै मुन्दुम धर्ममा मर्चा प्रयोग गरेर बनाइएको रक्सीलाई पवित्र जलका रुपमा लिइन्छ ।
जन्मपछिको न्वरानमा बच्चालाई यहि पवित्र जल खुवाएर शुद्ध पारिन्छ । मृत्युपछि आत्म शान्तिकालागि पितृपुर्खाको साथमा जानलागि यहि रक्सी र जाँड मुखमा राखिन्छ अनि चिहान अर्थात समाधीस्ल पु¥याइन्छ । यो मौलिक सँस्कार हो आदिम सँस्कृति हो ।
मानिसका स्वास्थ्यका लागि औषधि हुने कि विष हुने यो प्रयोगका आधारमा हुने गर्छ । वैज्ञानिक अनुसन्धानले समेत सबै औषधिहरु प्रयोग गर्ने मात्राका आधारमा मात्र औषधि हुन्छ । मर्चा अर्थात जाँडरक्सी सामाजिक हिसाबले यो आत्मीयता जगाउने एउटा पदार्थ हो । मौलिक सँस्कृतिको एउटा तत्व हो । किराती सनातन सँस्कृतिको नमूना र अभ्यासबाट निर्मित महत्वपूर्ण उपलब्धि हो ।
सामन्यतया ः मर्चा बनाउन केहि जडीबुटीको प्रयोग हुन्छ । भीर पाखामा पाइने जडिबुटीको धुलो र कोदो या चामलको पिठोमा मोलेर आवश्यक विधि र प्रकृया पूरा गरेपछि मर्चा बन्दछ । तर एउटा रमाइलो पक्ष त के छ भने मर्चा बनाउन माउ मर्चा अनिवार्य रहन्छ । अर्थात वंश चाहिन्छ । जस्तो अहिले हामी जन्मनुमा बुबाआमा, बुबाआमा जन्मनु बाजेबजु, बाजेबजु जन्मनु उहाँको बुबाआमा जस्ता लामो प्रकृया रहेका छन् । यस्तै मर्चा बनाउने कुरामा समेत यहि प्रकृया रहन्छ । अरु सामग्री बनाए जस्तो तत्काल शुरुवात भएको छैन यसको सीप । यो सीप किरात कालिन सभ्यताबाट विकास हुँदै आएको छ ।
मर्चा बनाउने खोटाङ माक्पाका वृद्धा जीतालक्षी राईले भने जस्तै यो बाजेको बाजे, बाजेको बाजे, बाजेको बाजे र बाजेहरुको पनि बाजेको पालामा बनेको हो । हाल जसले मर्चा बनाउँछन् उनीहरुले सबै कच्चा पदार्थ तयार पारेपछि त्यसमा थोरै माउ मर्चा हाल्नै पर्छ । किन भने नत्र कुहुन्छ । त्यो खान लायक बन्दैन ।
सामाजिक हिसाबले भने मर्चाको प्रयोगबाट बनेको उत्पादनलाई राम्रो मानिदैन अहिले । तर यसको प्रयोग व्यापक रहेको छ । मादक पदार्थको उपमा दिएर यसलाई प्रतिबन्ध गर्ने प्रयासहरु भइरहेका छन् । तर यी सब प्रयोगकर्तामा भर पर्ने कुरा न हुन् । किरात समुदायले मर्चाको प्रयोग बेगर कसरी आफ्नो सँस्कृति धान्न सक्छ ?
शुद्ध हुन सुनपानीको सट्टा नुनपानी प्रयोग गर्न मिल्छ र ? पञ्चामृत भनेर पानीमा चिनी घोलेर होला ? त्यस्तै शास्त्रीय हिसाबमा किरात समुदायमा मर्चाको छुट्टै किसिमको महत्व रहेको छ । प्रयोगकर्ताले यसलाई दुरपयोग गर्ने भन्दा बढी सँस्कारमा सदुपयोग गर्नु पर्दछ ।
मान्छे जन्मदा औलामा चुसाएर होस या मृत्युपछि मुखमा चुहाएर होस । यसको प्रयोग किराती जीवनमा परम्परागत मौलिक सँस्कारको रुपमा रहेको छ ।
यतिमात्र होइन बाहिर प्रकृतिको पूजा गर्दा होस या घरभित्र पितृपुजा गर्दा होस यो अत्यन्त आवश्यक छ । कन्यादान दिँदा होस या लिँदा होस यो नभइ हुँदैन । चुलामा पूजा गर्दा होस या बारीमा पूजा गर्दा होस यसको आवश्यकता पर्दछ । अझ रमाइलो त सामाजिक हिसाबमा केहि तलमाथि बिखुचो कसैले गरेछ भने शीर उभ्याने कुरा या माफी मिनाहा माग्ने कुरामा समेत मर्चा अर्थात यसबाट निर्मित रक्सीको प्रयोग हुने गर्दछ । तर यसको अधिक सेवनका कारण केहि तलमाथि नभएका पनि होइनन् ।
पहिलेपहिले किरात तथा आदिवासी मतुवाली समुदायले बाहेक अरुले यसको प्रयोग गर्दैन थिए । बाहुन क्षेत्री समुदायका लागि यो बर्जित नै थियो । बिस्तारै यसको प्रयोग मतुवालीमा भन्दा तागाधारीमा बढेको छ । रक्सी खाएर अल्कोहलिक भएर बिरामी भएकाहरु पनि प्राय मतुवाली इतरकै मानीसहरु भेटिएका छन् । यो किन हुन्छ ।
यसको वैज्ञानिक आधार त नहोला तर तर्क गर्न सकिन्छ । तागाधारीहरुको जिनमा मर्चाको कुनै प्रवेशनै छैन । उनीहरुको शरीरले यसलाई पचाउने क्षमता नै राम्रो विकास गरेको छैन । कारण हुन सक्छ । राज्यले अहिले यसलाई निरुत्साहित गराउने योजना ल्याएको छ । गाउँगाउँमा उत्पादन हुने घरेलु मदिराको नाम दिएर यसलाई नष्ट गर्ने, पोखाउने काममा राज्य लागेको छ । यो एकदमै निन्दनीय छ । हामी समृद्धिको कुरा गर्छौँ । समृद्धिको कुरामा स्वदेशी उत्पादनलाई निरुत्साहित गर्ने विदेशी उत्पादनलाई प्रोत्साहित गरिरहेका छौँ । यसले कसरी समृद्धि आउँछ ?
घरेलु मदिरा उत्पादन गरेर यसलाई विक्रीवितरण गरेर जीविकोपार्जन गर्नेहरु नेपालमा निकै छन् । प्रत्येक गाउँमा मदिरा बन्छन् । स्थानीय मर्चाको प्रयोबाट बनेको मदिरा प्रत्येक गाउँदेखि शहरहरुमा खपत हुन्छ । तर राज्य यसलाई नियन्त्रण गर्छ । गरीबको गाँस खोस्न उद्धत हुन्छ । यसको विकल्पमा यसलाई नियमन गरे हुँदैन ? यसलाई आंशिक करको दायरामा ल्याएर उत्पादन गर्न लगाउने । गुणस्तर मापन गर्ने र विक्रीवितरणका नियमहरु बनाएर व्यवस्थित बनाउँदा राज्यलाई के घाटा हुन्छ र ?
सबैलाई जानकारी नै छ । हाम्रो मूलुकमा मात्र होइन जुनसुकै मूलुकमा समेत मदिराको प्रयोग भएकै हुन्छन् । जति ठूला मान्छे भन्नेहरुले समेत यसको उपभोग गरेकै छन् । सभ्रान्त परिवारको किचन या बैठक कोठामा विभिन्न नामधारी रक्सी र जाँड खाने र खुवाउने काम भएकै छन् । ठूला तारे होटलदेखि छाप्रे होटलसम्म सबैमा आयातित र केमिकलयुक्त रक्सी बिक्रीवितरण खुलेआम रुपमा भइरहेको छ । त्यो पनि कानूनीरुपमा वैधता दिइएर नै । मदिरा हानीकारक र बन्द गर्ने हो भने विदेशी ब्राण्डका रक्सी र वाइनहरु किन भित्र्याउन दिने ?
बिक्री गर्ने लाइसेन्स लिएकै आधारमा विष बेच्न पाइन्छ र ? हुस्की, ब्राण्डी, भोड्का, वाइन, बियर आदि जे जस्तो नामका भएपनि त्यसको काम मात्ने नै हो नी हैन र ? हामीले आफ्नै घरमा बनाएको कोदो, मकैको जाँड खाँदा गैरकानूनी हुने विदेशबाट आएको बियर खाँदा कानूनी हुने हुन्छ र ?
हामीले हाम्रै आमाले आफ्नै हातबाट बनाएको रक्सि खाँदा अवैध हुने तर विदेशबाट आएको रेडलेबल ब्ल्याक लेबल खाँदा बैध हुने । अझै शान बढ्ने भन्ने पनि कहिँ हुन्छ ? आख्यानकार तथा साहित्यकार (मदन पुरस्कार विजेता) राजन मुकारुङले भने जस्तै ः रेला गर्नु हुन्छ ?