खेलमैदान निर्माणाका लागि देउसीभैलोबाट रु आठ लाख ९५ हजार सङ्कलन

Halesi Khabar
0 Shares

खोटाङ, १८ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा निर्माणाधीन खेलमैदानका लागि यस वर्षको देउसीभैलोबाट करीब रु नौँ लाख रकम जम्मा भएको छ । लफ्याङस्थित छिवामा निर्माणाधीन मझुवागढी रणजीतमान राई खेलमैदानका लागि आवश्यक रकम जुटाउन राजधानी काठमाडौँमा खेलिएको देउसीभैलोमा रु आठ लाख ९५ हजार ८१४ रकम सङ्कलन भएको हो ।

वडा कार्यालयको संयोजनमा यहि कातिक–८ र ९ काठमाडौँमा खेलिएको देउसीभैलोमा जम्मा भएको रकम सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । दिक्तेलस्थित होटल ब्लोसममा गरिएको पत्रकार सम्मेलनमा काठमाडौँमा खेलिएको देउसीभैलोका क्रममा रु ५० हजार ६८५ खर्च भएको आर्थिक सङ्कलन समितिका संयोजक राजेन्द्र राईले जानकारी दिनुभयो ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार गरेर निर्माण शुरु गरिएको खेलमैदानका लागि आर्थिक अभाव भएपछि काठमाडौँ पुगेर देउसीभैलो खेलिएको निर्माण उपभोक्ता समितिका पञ्चशेर राईले जानकारी दिनुभयो । वडा कार्यालयको आग्रहमा स्थानीय दाताले खेलमैदानका लागि निःशुल्क जग्गा उपलब्ध गराएपछि लफ्याङमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटबल खेलमैदान निर्माण शुरु गरिएको हो ।

करीब ५० प्रतिशत निर्माण सम्पन्न भएको खेलमैदानको सहयोगार्थ आवश्यक रकम जुटाउन स्थानीयवासी एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, लफ्याङका वडाध्यक्ष निर्मल राई, निर्माण उपभोक्ता समितिका पदाधिकारी लगायतको टोली तिहारको अवसर पारेर देउसीभैलो खेल्न काठमाडौँ पुगेका थिए ।

निर्माणाधीन खेलमैदानका लागि स्थानीय पञ्चशेर राईले नौँ रोपनी, बालाचन्द्र राईले सात, सर्वजीत राईले पाँच र हर्कराज राईले तीन रोपनी जग्गा वडा कार्यालयको नाममा निःशुल्क पास गरिदिनुभएको छ । खेलमैदानका लागि आवश्यक जग्गा निःशुल्क दिनेक्रम जारी रहेको वडाध्यक्ष राईले जानकारी दिनुभएको छ ।

१२० मीटर लम्बाई र ८० मीटर चौडाई हुने खेलमैदान आगामी माघभित्र सम्पन्न गर्नेगरि काम भइरहेको निर्माण उपलक्ता समितिले जनाएको छ । खेलमैदानका लागि निःशुल्क जग्गा उपलब्ध गराएकामा जग्गदाताकै बाजे रणजीतमान राईको नामबाट खेलमैदानको नामाकरण गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको दिक्तेलबजार नजिक निर्माणाधीन मझुवागढी रणजीतमान राई खेलमैदानलाई निक्कै महत्वमा साथ हेरिएको छ । लफ्याङमा निर्माणाधीन खेलमैदानका लागि स्थानीवासी आफै सक्रिय बनेका छन् ।

१५ वटा वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले समेत हरेक वडामा एक÷एक वटा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको खेलमैदान निर्माण गर्ने कार्यक्रम पारित गरेको छ । सो नगरपालिकाको वडा नम्बर–२ सोल्मा, वडा नम्बर–११ खार्मी र वडा नम्बर–१४ बुइपामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटबल खेलमैदान निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया