भारतीय नक्साको बिरोधमा साहित्यिक आन्दोलन

Halesi Khabar
0 Shares

खोटाङ, २३ कातिक । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै त्यसको बिरोधमा शुक्रबार खोटाङमा साहित्यिक आन्दोलन गरिएको छ । प्रगतिशील लेखक सङ्घ, टेम्के तुवाचुङ प्रतिष्ठान नेपाल, किराँत राई लेखक सङ्घ, साईनो कला केन्द्र र उन्मुक्त पुस्ता खोटाङले दिक्तेलस्थित त्रिवेणीचौकमा साहित्यिक आन्दोलन गरेको हो ।

आन्दोलनका क्रममा जिल्ला तथा जिल्ला बाहिरका दर्जन बढी कविले राष्ट्रवादी तथा भारतीय हस्तक्षेप बिरोधी कविता वाचन गरेका थिए । कवि भोगेन राई ‘एक्ले, चित्र सुवेदी, रेखा राई ‘क्षितिज’, डिल्लीराम ‘नाकारा’, ओमप्रकाश घिमिरे, धनीराम राई, प्रमोद स्नेही श्रेष्ठ, सुशिला निनाम, घनश्याम ढकाल, विष्णु उपरकोटी, नारायण भुजेल, विनोद बस्नेत, विष्णु ढुङ्गेल र मणि राईले कविता वाचन गर्नुभएको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राई, प्रदेशसभा सदस्य उषाकला राई, पूर्व सांसद कुलप्रसाद फुयाल लगायतको उपस्थिति रहेको कार्यक्रममा गायक तथा सँगीतकार भक्त विश्वकर्माले राष्ट्रभक्ति गीत प्रस्तुत गर्नुभएको थियो । करीब दुई घण्टा चलेको कार्यक्रममा सहभागी साहित्यकारहरुले ‘भारतीय हस्तक्षेप बन्द गर, विस्तारवाद मुर्दावाद, ब्याक अफ इन्डिया, असमान सन्धी खारेज गर, मिचिएका भू–भाग फिर्ता गर’ जस्ता प्लेकार्ड बोकेका थिए ।

भारतले हालै जारी गरेको नक्सा तत्काल नसच्याए कडा आन्दोलन गर्ने साहित्यकारहरुले चेतावनी दिएका छन् । भारतीय हस्तक्षेपको बिरोधमा सडकमै साहित्यिक कार्यक्रम गरेका साहित्यकारहरुलाई स्थानीय जनताले समेत साथ दिएका थिए ।

तपाईको प्रतिक्रिया