मुटुको भल्व फेरेका बिरामीको जिल्ला अस्पतालमै परीक्षण

Halesi Khabar
0 Shares

खोटाङ, २७ कातिक ः जिल्ला अस्पताल खोटाङमा मुटुको भल्व फेरेका बिरामीको रगत परीक्षण शुरु गरिएको छ । ब्रिटिस गोर्खा वेलफेयर खोटाङको रु एक लाख २० हजार आर्थिक सहयोगमा पिटि÷आईएनआर टेस्ट मेसिन ल्याएर नियमित रगत परीक्षण शुरु गरिएको हो ।
मुटुको शल्यक्रीया गरेर भल्व फेरेका बिरामीले हरेक महिना रगत परीक्षण गर्न काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको छ । जीवनभर रगत पातलो बनाउने वारफेरिन नामक औषधि सेवन गर्नुपर्ने मुटुका भल्व फेरेका बिरामीले हरेक महिना रगत परीक्षण गराउनुपर्ने हुँदा वेलफेयरको सहयोगमा मेसिन ल्याइएको अस्पतालका डाक्टर नारायण बरालले बताउनु भयो ।

यसअघि मुटुका भल्व फेरेका बिरामीले रगत परीक्षण गराउन हरेक महिना धरान, बिराटनगर वा काठमाडौँ पुग्नुपर्ने बाध्यता थियो । रगत परीक्षणकै लागि बाहिर जानुपर्ने बिरामीको बाध्यतालाई मध्यनजर गर्दै मेसिन खरिदका लागि सहयोग जुटाइएको अस्पताल श्रोतले जनाएको छ ।
गंगालाल हृदयरोग केन्द्र काठमाडौँमा पुग्दा एक पटकमा रु १५० मै रगत परीक्षण हुने गरेको छ । तर, काठमाडौँ जाँदा, आउँदा, खाँदा र बस्दा कम्तीमा १०÷१२ हजार खर्च हुने समस्या हल गर्न उपकरण जुटाएर सेवा शुरु गरिएको डाक्टर बरालको भनाई छ ।

जिल्लाबाट मुटुका भल्व फेरेका करिब १५–२० जना बिरामी हरेक महिना काठमाडौँ जाने गरेका छन् । मुटुका भल्व फेरेका कतिपय बिरामी जिल्ला अस्पतालमा आएर रगत परीक्षण सेवाका बारेमा सोधपुछ गर्न थालेपछि डा. नारायण बरालको पहलमा ब्रिटिस गोर्खा वेलफेयरबाट उपकरण जुटाइएको हो ।

तपाईको प्रतिक्रिया