तेस्रो अन्तर मावि छात्र फुटबल प्रतियोगिता मङ्सिर–१८ गतेदेखि शुरु हुने

Halesi Khabar
0 Shares

मङ्सिर  ः यहि मङ्सिर–१८ गतेदेखि खोटाङमा तेस्रो जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय छात्र फुटबल प्रतियोगिता गरिने भएको छ । खोटाङ फुटबल एकेडेमी (केएफए)को आयोजनामा तेस्रो अन्तर माविस्तरीय केएफए छात्र फुटबल प्रतियोगिता गर्न लागिएको हो ।

दिक्तेलस्थित माटिकोरे खेलमैदानमा बिहीबार पत्रकार सम्मेलन गरेर तेस्रो संस्करणको प्रतियोगिता मङ्सिर–२१ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः रु २५ हजार र रु दश हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कक्षा १० सम्मका छात्र मात्र खेल्न पाउने प्रतियोगिताका उत्कृष्ट छ जना खेलाडीलाई प्रिमियर कलेज काठमाडौँले कक्षा ११ र १२ अध्ययनका लागि निःशुल्क छात्रवृत्ति प्रदान गर्ने एकेडेमीका अध्यक्ष नुरकाजी सैँजूले बताउनुभयो । अध्यक्ष सैँजूका अनुसार उत्कृष्ट ११ खेलाडीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को उमेर समूह राष्ट्रिय खेलाडी छनौट प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।

प्रिमियर कलेजको छात्रवृत्ति प्राप्त गर्नका लागि खेलाडीले एसईईमा कम्तिमा ‘बी प्लस’ ग्रेड ल्याउनुपर्ने खोटाङ फूटबल एकेडेमीका प्रशिक्षक रोशेष श्रेष्ठले बताउनुभयो । गत वर्ष सात जना खेलाडीलाई कक्षा ११ र १२ अध्ययन तथा तालीमको सम्पूर्ण खर्च सम्बन्धित क्याम्पसले बेहोर्नेगरि काठमाडौँ लगेको थियो ।

जिल्लामा दक्ष खेलाडी उत्पादन गर्दै फुटबल खेललाई व्यवसायिक बनाउने उद्देश्यले नौँदेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई एकेडेमीले निःशुल्क तालीम दिने व्यवस्था मिलाइएको छ । यसअघि एकेडेमीमा तालीम लिएका याम्खाका एवन बस्नेत हाल नेपाल पुलिस क्लवबाट १८ वर्षमुनीका खेलाडी समूहमा आवद्ध छन् ।

एकेडेमीलाई गोल नेपाल र लिभरपुल फ्यान्स् नेपालले खेल सामग्री उपलब्ध गराउँदै आएको छ । लिभरपुल फ्यान्स् नेपालले गत वर्ष ३० जोर जर्सी, ३० वटा फुटबल, ट्रेनिङकोण, दुई थान नेटजाली र गोल नेपाल काठमाडौँले २० जोर जर्सी र दश वटा फुटबल उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया