दिक्तेलमा प्रदेश नम्बर १ नगरपालिकास्तरीय ‘मेयर कप’ ब्याडमिण्टन प्रतियोगिता हुने

Halesi Khabar
0 Shares

खोटाङ, ८ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी पुस–१ गतेबाट प्रदेश नम्बर एक नगरपालिकास्तरीय ‘मेयर कप’ ब्याडमिण्टन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । खेलकुद क्षेत्रको विकास गर्दै खेलकुदकै माध्यमबाट नगरपालिकाको पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले ‘प्रथम मेयर कप’ युगल ब्याडमिण्टन प्रतियोगिता गर्न लागेको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटिकोरेमा निर्माण गरिएको बहुउद्देश्यीय कवर्डहल उद्घाटनको अवसर पारेर ब्याडमिण्टन प्रतियोगिता गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाइँले जानकारी दिनुभयो । प्रतियोगितामा एक नम्बर प्रदेशमा पर्ने ४९ वटै नगरपालिकाका खेलाडीलाई सहभागी गराइने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र सेमिफाइनलिस्ट दुई समूहलाई क्रमश ः रु एक लाख ५० हजार, रु ८१ हजार र रु ४१÷४१ हजार नगदका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने नगरप्रमुख दिपनारायण रिजालले जानकारी दिनुभयो । नगरप्रमुख रिजालका अनुसार प्रतियोगितामा सहभागी हुने समूहले सम्बन्धित नगरपालिकाको सिफारिसपत्र अनिवार्य ल्याएर आउनुपर्ने छ ।

प्रतियोगितामा सहभागी हुने समूहले यहि मङ्सिर–२८ गतेभित्र आफ्नो समूह दर्ता गरिसक्नुपर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । दिक्तेलमा आयोजना गरिएको प्रथम मेयर कप ब्याडमिण्टन प्रतियोगिता अहिलेसम्मकै सर्वाधिक धनराशिको हो ।

जिल्लामै पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय मेयर कप ब्याडमिण्टन प्रतियोगिता सफल पार्न विभिन्न उपसमिति समेत गठन गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रदेशस्तरीय ब्याडमिण्टन प्रतियोगिताले नगरपालिकाभित्र रहेको विभिन्न पर्यटकीयस्थलको प्रचारप्रसार तथा व्यापार व्यवसायमा प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

नगरपालिकाको रु एक करोड आठ लाख लगानीमा निर्माण सम्पन्न गरिएको कवर्डहल उद्घाटनसँगै सो कवर्डहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका इन्डोर गेम गराउन सकिने निर्माण उपभोक्ता समितिका अध्यक्ष कुमार आचार्यले बताउनुभयो । वि.सं. २०६८ सालमा तत्कालीन प्रहरी नायब उपरीक्षक टेकबहादुर तामाङको अगुवाइमा निर्माण शुरु गरिएको कवर्डहल ८१ फिट लम्बाई, ५७ चौडाई र ३५ फिट उचाईको छ ।

बहुउद्देश्यीय कवर्डहलमा भलिबल, बास्केटबल, ब्याटमिन्टन, टेबलटेनिस, कबर्दी, डण्डीबियो, सितोरियो कराते, तेक्वान्दो लगायत हलभित्र गरिने प्रतियोगिता सञ्चालन गर्न सकिने जनाइएको छ । खेलकुदका कार्यक्रमसँगै जिल्लामा विभिन्न सङ्घ संस्थाले आयोजना गर्ने आमसभा, गोष्ठी तथा सेमिनार, बैठक समेत गर्न मिन्ने बहुउद्देश्यीय कवर्डहल एक हजार बढी मानिस अट्ने सक्ने क्षमताको रहेको छ ।

तपाईको प्रतिक्रिया