भीम राई ।
रावाबेँसी गाउँपालिकाको स्कारपियोमा सोमबार राति आगजनी भएको छ । वडा नम्बर–५ दुवेकोलस्थित गाउँपालिका प्रमुख लिलानाथ निरौलाको घरैमा पार्किङ गरेर राखिएको बा २ झ ३५२४ नम्बरको स्कारपियोमा रातको करीब १२ बजेर ५८ मिनेट जाँदा आगजनी भएको हो ।
आगजानी कसले किन र केकालागि गरे भन्नेबारेमा पत्ता लागेको छैन । गाउँपालिकाले तत्काल एउटा विज्ञप्ती जारी ग¥यो । विज्ञप्तीमा सुरक्षाको प्रत्याभुत नभएको सङ्केत दिइयो ।
केही समय अगाडि मङ्सिर–१४ गते राति अज्ञात समूहले कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डमा प्रयोग गरिएका चार वटा स्काभेटरमा आगजनी गरे ।
गोल्डेनगुड शेर्पा कन्ट्रक्सनको फरक–फरक स्थानमा राखिएका चार वटा स्काभेटरमा एकैसाथ आगजनी भएपछि प्रहरीको टोली त्यस ठाउँमा पुग्यो । तर कुन समूहले यस्तो कार्य गरेको भन्ने खुट्टयाउन सकेन । यसको खोजि कार्य भइरहेको प्रहरीको भनाइ छ ।
कन्ट्रक्सनका प्रतिनिधी साङगे शेर्पाले भने केही समय अगाडि (नेकपा) विप्लव समूहका तर्फबाट फोन आएको सुनाए । तर उनीहरुले नै आगजानी गरेका हुन भन्न सकेनन् । आशंकाको बाटो भने खुलेको छ । प्रहरीको अनुसन्धानले के भन्छ ? यसको जवाफ आउन बाँकी छ ।
पछिल्लो समयमा यस्तो घटनामा सङ्लग्न कोही कसैलाई पक्राउ गरिएको छैन । प्रहरी प्रशासनको अनुन्धानको दायरा फराकीलो हुन नसक्दा अपराध गर्नेहरुको पत्ता लाग्न सकेको छैन । घटनामा सङ्लग्नहरुको पहिचान हुन नसक्दा जिल्लामा त्रास बढेको छ ।
जिल्लाको सुरक्षा संवेदनशील अवस्थामा पुगेको हो की भन्ने भान आम नागरिकमा पर्न थालेको छ । यस अघिका अरु धेरै घटनाहरुको समेत अपराधमा सङ्लग्नहरुको पत्ता लाग्न नसक्दा सुरक्षा चुनौति बढेको छ ।
करीब दुई वर्ष अगाडि रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ जालपामा सन्चालित ज्योती मावि जालपाको विद्यालय भवनमा आगजनी भएको थियो । पेट्रोल छर्केर भएको आगजनीमा कुन समूहको सलग्नता रहेको भन्ने खुल्न सकेन किन आगजनी ग¥यो यसको कारण सम्म पत्ता लाग्न सकेन ।
रातको ११ बजेको समयमा भएको आगजनीपछि स्थानीयले चन्दा सङ्कलन गरेर विद्यालय निर्माण गरे । घटनाको अनुसन्धानको पाटो कता पुग्यो चर्चा परिचर्चा हुन छाडेको छ ।
यस्तै नगरपालिकाको वडा नं १५ विजयखर्कका चम्पावती माविको ल्यापटप, वडा कार्यलयको (तत्कालीन गाविस)को सामग्रीहरु, हुलाक कार्यलयको सामग्रीहरु चोरी भयो । चोर्ने मान्छे पत्ता लागेको छैन । केही समय अगाडि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं ४ खाल्लेको शितला माविको कम्प्युटर चोरी भयो । कसले चोरी गरेको भन्ने बारेमा पत्ता लागेन ।
यस्ता घटनाहरु निकै छन् जिल्लामा । दिन प्रतिदिन घटना बढ्दै छन् । घटनाहरु भएपछि अनुसन्धानको पाटो शुरु हुन्छ । कतिपय घटनाहरुको पत्ता लाग्छन् । कतिपय पत्ता लगाउन प्रहरी प्रशासन असक्षम हुन्छ ।
अनुसन्धान गर्न नसक्दा अपराध कर्म गर्नेहरु भने फुक्काफाल भएर हिँड्छन । यो निकै चिन्ताको विषय हो । अहिले पछिल्लो समयमा घटनाका जवाफहरु आशंकाको भरमा दिन थालिएको छ । जसलाई आशंका गरिन्छ उसले घटनाको जिम्मा लिदैन । यसले स्थिती असहज बन्दै गएको छ ।
माथिका पछिल्लो दुईवटा आगजनीको घटनामा समेत यस्तै यस्तै आशंका गरिएको छ । सरकारद्धारा प्रतिवन्द्धित राजनीतिक दल नेकपा विप्लव समुहमाथी शंकाको घेरा बढाइएकोछ । तर विद्रोहको लाइनमा लागेको यो समूहले भने कुनैपनि घटनाको जिम्मेवारी लिएको पाइदैन ।
उनीहरुले आफ्नो सङ्लग्नता नस्वीकारेपछि ठोकुवाका साथ भन्न सकिने अवस्था रहेन । यसको जवाफ खोज्ने भनेको प्रहरी प्रशासनसँगै हो । तर जवाफ आइरहेको छैन । किन यस्तो भइरहेको छ । के खोटाङ जिल्लामा सुरक्षाको चुनौति बढेकै हो त ? यता तिर सोच्न पर्ने अवस्था आइसकेको छ ।
समाजमा काम गर्दै जाने क्रममा असन्तुष्टिहरु जन्मन्छन् । द्धन्द्धहरुको सिर्जना हुन्छ । द्धन्द्धलाई व्यवस्थापन गर्दै लैजानुको साटो प्रतिसोध साँध्ने जस्ता कामहरु हुन थालेका छन् । चाहे त्यो प्रतिबन्धित राजनीतिक समूह होस् या कुनैपनि समूह होस जसले यस्तो कार्य गरिरहेका छन् ।
यसले समाजलाई अग्रगमनतर्फ लैजान सक्दैन । विकास निर्माणको काममा बाधा पु¥याउँछ । मध्यपहाडीको सडक कालोपत्रे गर्दै गरेको स्काभेटर जलाउँदा कम्पनीलाई के असर हुन्छ र ? बरु निर्माण कम्पनीले इन्स्योरेन्स क्लेम गर्ने र नयाँ समान जोड्ने र ठेक्काको म्याद थपगर्ने अवसर प्राप्त गर्छ ।
समयमा सक्नु पर्नेकाम ढिलासुस्ती हुन्छ । गाउँपालिकाको गाडी जलाएर के फाईदा हुन्छ । कि पालिकाको प्रतिनिधीहरु चढ्ने गाडीको अभावले काम रोकिनेवाला छैन । तर जनताकोे प्रत्यक्ष सरोकारका कामहरुमा भने प्रत्यक्ष असरहरु पुग्छन् ।
विकासको निर्माणको पक्षधर तथा परिवर्तन चाहानेहरुले यस्तो कार्यको विरोध गर्नु पर्दछ । विकास विरोधी गतिविधिमा रोक लगाउनु आम सर्वसाधरण नागरिक, जनप्रतिनिधी, कर्मचारी, प्रहरी प्रशासन सबैको उतिकै दायित्व रहन्छ ।
लेखक ः प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य हुन् ।