खोटाङ, १ पुस । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दक्तेलबजारमा नगरपालिकास्तरीय मेयरकप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रदेश नम्बर–१ अन्तरगत पर्ने ५४ वटै नगरपालिकाका खेलाडीलाई जमघट गराएर नगरपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा आज (मङ्गलबार)देखि प्रथम नगरपालिकास्तरीय मेयरकप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको हो ।
दिक्तेलबजारको माटिकोरेस्थित बहुउद्देश्यीय कवर्डहलमा नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले पानसमा बत्ती बालेर ब्याडमिन्टन प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो । आगामी पुस–३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टोलीलाई नगद रु एक लाख ५१ हजार, दोश्रो हुनेलाई रु ८१ हजार र दुई सेमीफाइनलिष्ट टोलीलाई ४१ र ४१ हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
प्रदेश नम्बर १ भित्रका नगरपालिकालाई मात्र सहभागी गराइएको प्रतियोगितामा खोटाङसहित उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, धनकुटा, सङ्खुवासभा, सुनसरी, मोरङ लगायत दश जिल्लाका विभिन्न नगरपालिकाका ३४ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा झापा, ईलाम, पाँचथर र ताप्लेजुङका नगरपालिकाको भने सहभागिता नरहेको आयोजक समितिका संयोजक अजम्बर राईले जानकारी दिनुभयो ।
पहिलो चरण अन्तरगत मङ्गलबार १८ वटा प्रतियोगिता सञ्चालन भएको आयोजकले जनाएको छ । नगरपालिकाको पर्यटकीयस्थलको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउन नगरपालिकाले जिल्ला ब्याडमिन्टन सङ्घसँगको सहकार्यमा नकआउट ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको हो ।