खोटाङ, २ पुस । प्रथम नगरपालिकास्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा फरक–फरक जिल्लाका चार नगरपालिका सेमीफाईनल प्रवेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको प्रथम नगर कप खुला डबल ब्याडमिण्टन प्रतियोगिता अन्तरगत बुधबार भएको क्वाटरफाइनल खेलमा खोटाङ, सङ्खुवासभा, सुनसरी र उदयपुरका खेलाडी सेमीफाईनल प्रवेश गरेका हुन् ।
दिक्तेलबजारमा निर्मित ‘खोटाङ बहुउद्देश्यीय कवर्डहल’को उद्घाटनसँगै सोही कवर्डहलमा आयोजना गरिएको प्रतियोगितामा आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जीवन आचार्य र सुनिल जोशी तथा संखुवासभा पाँचखपन नगरपालिकाका गौरव दाहाल र अनिष श्रेष्ठबीच बिहीबार सेमीफाईलनको पहिलो खेल हुने छ । यस्तै, धरान उपमहानगरपालिका सुनसरीका सुजन श्रेष्ठ र प्रनिष ठकुरी तथा त्रियुगा नगरपालिका उदयपुरका विष्णु कटुवाल र विजित मगरबीच प्रतिस्पर्धा हुनेछ ।
बिहीबार नै सम्पन्न हुने प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टोलीलाई नगद रु एक लाख ५१ हजार, दोश्रोलाई रु ८१ हजार र दुई सेमीफाइनलिष्ट टोलीलाई रु ४१÷४१ हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ । प्रदेश नम्बर १ भित्रका नगरपालिकालाई मात्र सहभागी गराइएको प्रतियोगितामा खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, धनकुटा, सङ्खुवासभा, सुनसरी, मोरङ लगायत दश जिल्लामा पर्ने विभिन्न नगरपालिकाका ३४ टोलीको सहभागिता थियो ।
करीब नौँ वर्ष लगाएर निर्माण सम्पन्न गरिएको खोटाङ बहुउद्देश्यीय कवर्डहलमा पहिलो पटक आयोजना गरिएको नगरपालिकास्तरीय ब्याडमिन्टर प्रतियोगिता मङ्गलबार नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । नगरपालिकाभित्र पर्ने धार्मिक तथा पर्यटकीयस्थलको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउन नगरपालिकाले जिल्ला ब्याडमिन्टन सङ्घसँगको सहकार्यमा नकआउट ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो ।