हलेसी खबर
खोटाङ, पुस ३ । खोटाङको सदरमुकाम दिक्तेलमा सम्पन्न प्रथम नगरपालिकास्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजक टोली दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उचालेको छ । दिक्तेलस्थित ‘खोटाङ बहुउद्देश्यीय कवर्डहल’मा पुस १ गते मंगलबार देखि भएको खेलको उपाधी आयोजक दि.रु.म.न.पा.ले उपाधि चुमेको हो ।
बिहीबार सम्पन्न फाइनल खेलमा उदयपुरको त्रियुगा नगरपालिकालाई बेस्टअप थ्रीमा दुई एकले हराउँदै जीतसँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगद रु एक लाख ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । हारसँगै त्रियुगा नगरपालिकाले नगद रु ८१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट जीवन आचार्य र सुनिल जोशी तथा त्रियुगा नगरपालिका उदयपुरबाट विष्णु कटुवाल र विजित मगरबीच अन्तिम स्पर्धा भएको थियो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका र धरान उपमहानगरपालिका सुनसरीले सेमिफाइनलिष्ट टोलीको रुपमा चित्त बुझाउनु परेको छ । प्रतियोगिताको दुई सेमीफाइनलिष्ट टोलीलाई नगद रु ४१÷४१ हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाका शाखा अधिकृत एवम् खेल समिति संयोजक अजम्बर राईले जानकारी दिए ।
पाँचखपन नगरपालिकाबाट गौरव दाहाल र अनिष श्रेष्ठ तथा धरान उपमहानगरपालिकाबाट सुजन श्रेष्ठ र प्रनिष ठकुरी मैदानमा उत्रिएका थिए । प्रतियोगिताका विजयी टोलीलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाइँ, सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिव रामप्रसाद दंगाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रदेश नम्बर १ भित्रका नगरपालिकाहरुलाई आमन्त्रण गरिएकोे प्रतियोगितामा खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, धनकुटा, सङ्खुवासभा, सुनसरी, मोरङ लगायत दश जिल्लाका विभिन्न नगरपालिकाबाट ३४ टोलीले सहभागिता जनाएका थिए । प्रदेश नम्बर १ भित्र पर्ने १४ जिल्लाका ५४ वटै नगरपालिकालाई निमन्त्रणा गरिएपनि झापा, ईलाम, पाँचथर र ताप्लेजुङबाट भने सहभागिता हुन नसकेको खेल संयोजक राईले जानकारी दिए ।
करीब नौँ वर्ष लगाएर निर्माण सम्पन्न गरिएको खोटाङ बहुउद्देश्यीय कवर्डहलमा पहिलो पटक आयोजना गरिएको नगरपालिकास्तरीय ब्याडमिन्टर प्रतियोगिता मङ्गलबार नगरप्रमुख रिजाल र उपप्रमुख राईले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । नगरपालिकाभित्र पर्ने धार्मिक तथा पर्यटकीयस्थलको प्रचार–प्रसार गर्दै खेलसँगै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले प्रतियोगिता गराईएको हो । नगरपालिकाले जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङसँगको सहकार्यमा नकआउट ब्याडमिन्टन प्रतियोगिता पहिलो पटक आयोजना गरेको थियो ।
मेयर कप प्रतियोगिता समापन कार्यक्रममा १३ औँ दक्षिण यसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत ब्याडमिन्टर प्रतियोगितामा कास्य पदक विजेता जीवन आचार्यलाई नगद सहित सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका आचार्यलाई नगद रु २० हजारको साथमा प्रमाणपत्र सहित सम्मानीत भएका छन् ।
उद्घाटन तथा समापन कार्यक्रममा विनिन्न जातजातिको साँस्कृतिक झाँकी एवम् नृत्य समेत प्रस्तुत गरिएको थियो । जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रदेश नम्बर–१ अन्तरगत नगरपालिकास्तरीय मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको आयोजक नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।