काँग्रेस भित्र निषेधको राजनीति

Halesi Khabar
0 Shares

भीम राई

नेपाली काँग्रेस नेपालको सबै जेठो र पुरानो पार्टी हो । प्रजापरिषद, राष्ट्रिय काँग्रेस हुँदै पछिल्लो समय नेपाली काँग्रेस बनेको हो । कुनै समय देशको राजनीतिमा दुई तिहाई सिट जितेर देशमा शासन र सत्ताको बागडोर सम्हालेको पार्टी । पटक पटक सत्तामा पुगेर आफूलाई बाघको रुपमा प्रस्तुत गर्न सफल भएको दल ।

धेरै पटक सत्ताको नेतृत्व गरेका अनुभवी नेताहरुको जमातले चलेको पार्टी । मातृकाप्रसाद कोईराला, विशेश्वरप्रसाद कोईराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला, शेरबहादुर देउवा, सुशिल कोईराला जस्ता आधा दर्जन प्रधानमन्त्री भइसकेका नेताहरुले चलाएको पुरानो पार्टी । आज प्रतिपक्षमा छ ।

२०४६ सालको जनआन्दोलनमा संयुक्त बाम मोर्चासँग सहकार्य गरेर तीस वर्ष लामो पञ्चायती व्यवस्थाको बिरासत तोड्न सक्ने पार्टी आज किन रक्षात्मक बन्न पुग्यो ? के विपिको समाजवादको धार कमजोर हुँदै गएको हो ? जनमतको अभाव हुनुमा यो मात्र कारण हो त ?

काँग्रेसभित्र सबै भन्दा ठूलो मौलाएको विषय भनेको गुट, उपगुट र आफ्नै नेताहरुलाई निशेध गर्ने प्रवृत्ति हो । यसले काँग्रेसलाई हिजोको बाघ आजको स्याल जस्तो अवस्थामा पु¥याएको छ । प्रतिपक्षको भूमिकामा रहेको काँग्रेसले आफूलाई सम्झन त बाघ नै सम्झन्छ तर उसको औकात र हैसियत क्रमश खुम्चिएर स्यालको अवस्थामा झर्न लागेको छ ।

यसको प्रमुख कारण आफ्नै नेताहरुलाई अविश्वास गर्ने र स्थापित नेताहरुलाई पाखा लगाउँदै आफू मात्र नेता हुने किसिमको प्रवृत्तिले हो । काँग्रेस केन्द्रमा हाल देखिएका संस्थापन भनिएको शेरबहादुर गुट, रामचन्द्र गुट, कृष्णप्रसाद सिटौला गुट, देखिएपनि यसका थुप्रै उपगुटहरु त्यसभित्र स्याउँस्याउँती भेटिन्छन् । यसको परिणाम कहिले नेवि सङ्घमा आएर पोखिन्छ ।

कहिले तरुण दलमा आएर ठोकिन्छ । यो बिडम्बनाले काँग्रेसलाई त बिगारेकै छ । थप सिङ्गो मूलुकलाई समेत असर पु¥याएको छ । सामान्यत खोटाङ जिल्लाकै उदाहरण हेर्ने हो भने फरक गुटमा लागेकै कारण पहिले कौशलराज रेग्मी, विदुर पौडेल, तिलक तिमल्सिना, बलबहादुर राई जस्ता नेताहरु जिल्लामा रहन सकेनन् । पार्टीको काममा भन्दा बढी खुरापाती लाइन लागेकै कारण उनीहरुले चाहेको जस्तो समाज निर्माणमा उनीहरुले योगदान दिन पाएनन् ।

यसो गर्दा केही नेताहरुलाई फाइदा पुग्यो होला तर अनुभवी राजनीतिक नेतृत्व नहुँदा काँग्रेस डुबेको हो । खोटाङ जिल्लाको काँग्रेसको राजनीतिमा निकै उतार चढावहरु आएका देखिन्छ । २००७ साल यता काँग्रेसको उपस्थित रहेको जिल्लामा पछि पञ्चायतसँग आत्मसर्मण गर्ने र नगर्ने काँग्रेसहरु हुँदै २०४६ को आन्दोलन पछि बनेको काँग्रेसले धेरै कुराहरु पाठका रुपमा सिक्नुपर्ने देखिन्छ ।

तत्कालीन नेकपा एमालेको विभाजनपछि बनेको माले र एमाले भएको ताका २०५६ मा काँग्रेसले खोटाङ जिल्लामा प्रतिनिधि सभाका लागि चुनाव जित्यो । यो ऐतिहासिक अवसर थियो । त्यो अवसर काँग्रेसका नेता शिव बस्नेत र सर्वधन राईलाई प्राप्त भयो । उनीहरु दुवैजना मन्त्री पनि भए ।

यसपछि शुरुवात भयो काँग्रेस खोटाङमा गज्जबको राजनीति । केही समय शिव बस्नेतको लाइन की ? सर्वधन राईको लाइन ? भन्ने चल्न थाल्यो । यसमा पनि अरु लाइन थपिन थाले । सुवासकुमार पोखरेल कि शिव बस्नेत ? कसलाई नेता बनाउने भन्ने बारेमा अत्यन्तै निर्मम खेलहरु खेलिन थाले ।

कहिँ नसुनिएका नामहरु काँग्रेसको राजनीतिमा देखिन थाल्यो । शिव बस्नेतले खोटाङ काँग्रेसलाई आफ्नो अन्ुकुल चलाउन निकै प्रयासहरु गरे । तरुणदल, नेवि सङ्घ जस्ता वर्गीय संगठनहरु समेत आफू अनुकुल बनाउन लबिङ गरे । केही समय सफल पनि देखिए । आफ्नै पार्टीको उम्मेदवारलाई हराउन आफ्नै कार्यकर्तालाई वागी उम्मेदवार बनाउनेसम्मको खेल भयो । त्यसबेला जो वागी उम्मेदवार बने उनको राजनीति भविष्य चकनाचुर बन्यो ।

अन्तत बस्नेत आफैले पनि पार्टी सदस्यता नै सरुवा लिएर जानुपर्ने बाध्यतामा परे । बस्नेत जिल्लामा बसेर राजनीति गर्न सक्ने ठाउँ समेत सकिएको एक खाले काँग्रेसको ठम्याइ छ । उनलाई उनकै खुरापती दिमाग र बढी षडयन्त्रपूर्वक पार्टी कब्जा गर्ने रणनीतिका कारण बाहिरनु परेको काँग्रेस वृत्तमा चर्चा छ ।

उता तत्कालीन क्षेत्र नम्बर १ मा कुरा गर्दा नेता सर्वधन राई एक युवा नेता हून । उनी २०५६ सालमै निर्वाचित सांसद तथा मन्त्री समेत भइसकेका व्यक्ति हुन् । काँग्रेस वृत्तमा राम्रै क्षमता राख्ने युुवा नेता भएपनि त्यसपछि काँग्रेसको कुनै भूमिकमाा उनलाई देखिदैन । लोकतान्त्रिक विधि र प्रकृया मान्ने नेपाली काँग्रेसका कार्यकताहरुले सर्वधन राईलाई जिल्ला तहको नेता समेत बनाउन चाहदैनन् ।

यसले काँग्रेसलाई फाइदा छ की बेफाइदा होला ? पार्टी भित्रको राजनीतिक क्यारिएरको पाटोमा हेर्दा काँग्रेसका नेता सुवासकुमार पाख्रेललाई सर्वधन राईको डर थियो कुनै बेला । उनलाई गाउँमै रोक्न चाहान्थे । सोही अनुसार उनलाई रोकियो ।

काँग्रेसभित्र मतदाताहरु इमान्दार छन् नेतृत्व बैमान छ । वर्तमान अवस्थामा नेकपाको दुई तिहाईको सरकार र शक्तिको कारण काँग्रेसमा केही प्रतिशोधका भावले एकता जस्तो देखिएको मात्र हो । शक्ति र सत्ताको लागि समय आएपछि नेताहरु फेरी बैमान भइहाल्छन् । यसले काँग्रेसको राजनीति त धरमर हुन्छ नै जिल्लामा बलियो प्रतिपक्ष समेत नहुँदा लोकतन्त्रको सुन्दरता हराउने छ ।

शिव बस्नेतहरुले अरुलाई नेता हुन रोक्न खोज्दा बसाइ जानुपर्ने अवस्था आउनु, राम्रै सम्भवाना भएका युवा नेताहरुको राजनीति धरासयी हुनु राम्रो कुरा हुँदै होइन । सर्वधन राईहरुलाई छेकेर आफू नेता हुन खोज्दा सुवासहरु भोलि आफूले खनेको खाल्डोमा आफै पनि नजाकिने भन्ने हुन्छ र ? २०७० सालको चुनावमा नरेश श्रेष्ठलाई गुण लगाएपछि नरेश श्रेष्ठले गुण फिर्ता नगर्नु मिल्छ र ?

अहिले उपनिर्वाचनपछि काँग्रेसमा केही तागत पसे जस्तो देखिन्छ । तर पनि यो कुनै उर्जाले प्राप्त भएको तागत भने होइन । काग्रेस सप्रेकाले यस्तो भएको पनि होइन । यो सत्तासँग असन्तुष्टि प्रकट मात्र भएको हो । नेपालीमा एउटा उखान छ मलजल धेरै भयो भने बाली हौसिन्छ । बालीनाली हौसियो भने फल्दैन । यस्तै हाम्रा राजनीतिक दलका नेताहरु हौसिनु मिल्ला र ?

काँग्रेस पार्टीको यो कथाहरु जस्तै नेकपामा पनि अब कथा शुरु हुनेवाला छ । यो कथाले मात्र जिल्लाको समग्र विकास हुन सक्दैन । विकास हुनलाई त सबै खालको नेतृत्व चाहिन्छ । सबै एकजुट हुन जरुरी छ ।
     लेखक ः प्रेस सङ्गठन नेपालका केन्द्री सदस्य हुन् ।

तपाईको प्रतिक्रिया