कथाकार वियस राई र उनको ‘हिउँमाझी’

Halesi Khabar
0 Shares

– भिम राई (माक्पाली कान्छा)


गाली र छाडा लाग्ने कुरालाई पनि विस्तारै मिलाएर बोल्दा खेरी राम्रो, रमाईलो र मन छुने नै हुँदो रहेछ । नेपाली शब्दकोषमा भएका सबै किसिमका गालीहरुको प्रयोग मिलाएर साहित्यमा राखियो भने सुन्दा खेरी त्यस्तो अश्लिलता पटक्कै नुहने रहेछ । प्रयोगमा आएका धेरै ठेट शब्दहरुको संयोजन गर्न पोख्त एक यूवा शसक्त कथाकार बियस राईको कथासंग्रह ‘हिउँमाझी’ सँग दिक्तेलमा फेरी भेट भो । खुशी लाग्यो , मजा आये । भर्जिन कथाकारको भर्जिन शैली ।

‘कुइरेनी ल्याम्छु ।’
‘इ ल्याम्छस् कुइरेनी, को भन्दा तुइँ तिखेले ।’
बाले मर्दा पत्याएनन्, पत्याउने कुरै थेन । यसो हेरेको ता, बुढाले देब्रे हातको चोरऔँला र माझी औँलाको बीचाँ दाईने हातको चोर औँला छिरा’र पो देखाईरका र’छन ।

हिउँमाझीको पहिलो कथा ‘नाम्लो’मा मखमल परियार र उनका छोरा तिखे बिच भएको संवाद आफैमा गालि हो तर अश्लिल लाग्दैन । यो भर्जिन शैलिको देखिन्छ । कथाकारले यहिबाट टिपेको विषयले रोमाञ्चक बनाउँदै मानवीय संवेगहरुको संयोजन गर्दछ । ‘नाम्लो’ देखिएको एक गरिव तथा अनपढ व्यक्तिले कुहिरेको पोटरबाट गाइड हुने देखेको सपना, पाएको अवसर तथा चुनौती र त्यसलाई ग्रहण गर्ने क्षमताको बारेमा कथाले सामाजिक यर्थाततामा पु¥याउँछ । कथामा पर्यटकका रुपमा आएकी डेजीले तिखेको नाम टिके बनाउनु, कुईरेनीको गाईड बनेर हिमाली भेगमा टुटेफुटेको अंग्रेजी बोल्दै घुमाउनु लानु, नाम्चे बजारमा पुगेर रेष्ट गर्ने दिन स्याङबोचे घुमाएर ल्याएको प्रसँग कम्ता मजाको छैन । रम खाँदै गर्दा तिखे कुईरेनीको कोठामै रिर्चाज कार्ड पु¥याउन जाँदा देखेको दृष्यको प्रसँगले निकै रमाईलो दिलाउँछ । कथाकारले खेलाएको विम्बहरुले पात्रलाई न्याय मात्र दिँदैन यसले आनन्द समेत प्रदान गर्छ । तिखेलाई उदाहरण बनाएर लेखिएको कथाले अन्तमा काम गर्दा कोही सानो भईन्न भन्ने निष्कर्श निकाल्छ ।

कथाकार राईले ‘हिउँमाझी’ कथा सँग्रहमा १३ वटा कथाका थुँगाहरुलाई एउटा मालामा उनेर बाहिर देखाएका छन । उनको अर्काे कथा हो ‘टुङना’ । अलिकती प्रेम, अलिकती माया, अनि धेरै बढी कर्तव्यको समिश्रण रहेको कथाका रुपमा ‘टुङना’ उभिएको छ । फूलसानीलाई म्हे म्हेले दिएको टुङना र टुङना सँगै दिएको मायाको ठुलो भारीलाई राजनीतिक स्वार्थ नामको आँधीवेहरीबाट जोगाउन हितैषी पासाङलाई जिम्मा लाएर फूलसानी युद्धमा हिँड्नु । त्यस कथाको नियती हो । एघार बर्षको राजनीतिक द्धन्द्ध र यसले देखाएको प्रत्यक्ष असरको प्रतिनिधी कथा हो । आदीवासी समुदायमा द्धन्द्धले लगाएका निशानी हुनसक्छ फूलसानीलाई जर्वजस्त युद्धमा जानुपर्ने अवस्थाको सिर्जना हुनु । पासाङले घर छाडेर प्रहरीको जागीरमा जानु । प्रमुख जिल्ला अधिकारीलाई मातृभाषी शैलीबाट सम्बोधन गर्नु । फूल्सानीको मृत्युको घटना थाहा पाएपछि प्रमुख जिल्ला अधिकारीलाई पासाङले फूलसानीले छाडेको चिनो ‘टुङना’ जिम्मा दिनु आदीवासी जनजाती हुनुको इमान्दारीतामात्र होइन । हाल बजारमा देखिएको सस्तो माया प्रेमको नाटकलाई चोटिलो जवाफ पनि हो । कथाकार राईले यो विषयलाई छर्लङ उतारेका छन ।

कथाहरुले सिर्जना गरेका धेरै विषयहरु छन संग्रह भित्र । ‘चन्दा’ शिर्षकको कथाले जातीय विभेदको उछितो काडेको छ । एक शब्दमा ‘ तिम्रा घराँ म छिर्दा त बाहुन पढाएर चोख्यायौ । तिम्री स्वास्नीमा मेरो रगत छि¥यो, अब कसरी चोख्यायँछौ बाजे ? एक पछि अर्को विषयमा बियसले आफ्नो साहित्यीक औकातलाई असरल्ल पारेका छन संग्रहभित्र । संग्रहभित्रको अर्को यस्तै विषय दरिलो उभाएर ल्याएका छन उनले ‘चञ्चला’ कथामा । महिला माथी हुने सबैखाले हिंसा अन्त्य गर्ने नाममा भईरहेका कुकृत्यका बारेमा कथाले राम्रै शिक्षा प्रदान गरेको छ । चञ्चला जस्ता कृयाशिल र क्षमतावान फर्साइला नारीहरुमाथी खेलबाड गर्ने र त्यही पापमोचन गर्न चौतारीको मादल सम्झनेहरुले नारी संवेदनाको कुनै सम्मान गर्न नसक्ने निष्कर्शका साथ आएको कथा हो । एउटी नारी छोरीबाट आमा हुने तरखरमा पुग्दा समेत उनले पाएका अधिकारको बारेमा समाजले देखाउने व्यवहार र नारी पुरुष समान भन्ने नाराप्रति भईरहेको नौटंकीको पर्दाफास पनि हो यो कथा ।

बियसका प्राय कथाहरु आञ्चलिक छन । आफ्नै गाउँघर र परिवेशसँगै आफ्नै भुगोललाई उने कथाको भुगोल दिएका छन । यीनै कथाहरु मध्येको कथा हो ‘माफ’ । वर्तमान समयमा गाउँघरमा आधुनीकताको नाममा विलिन हुन लागेको मौलिक तथा साँस्कृतिक कुराहरुको बेहिसाब छिनोफानो गर्ने प्रयास स्वरुप आएको कथा हो यो । लेखकको आफ्नै जन्मस्थानलाई भुगोल बनाइएको कथामा स्थानीय बोलीचाली र रहनसहनको वासना आउँछ । लोपु हुँदै गईरहेको मारुनीको संरक्षणमा यूवाहरुको सक्रियता घट्दै गएको र आधुनीकताका नाममा संस्कृतिहरु परिस्कृत हुँदै गरेको सन्दर्भमा आएको कथाका रुपमा ‘माफ’ उभिएको छ । गै¥हाघरेले युवाहरुको मौलिक संस्कृति र रितिरिवाज प्रति बढ्दै गरेको वितृष्णाका विरुद्ध गरेको विद्रोहका रुपमा कथाले प्रतिविम्वत गरेको छ ।

संग्रहको विचभागमा रहेको छ । पुस्तकको शिर्ष कथा ‘हिउँमाझी’ । सोलुखुम्बु अर्थात लेखकको जन्म जिल्ला । पर्यटकीय उदगम स्थल । विश्वको सर्वोच्च शिखर चोमालुङमा भएको ठाउँ । जिल्लाको माथील्लो भेगमा हिमालै हिमाल, हिउँ नै हिउँ । हो यहि हिँउको बाटो हिँडाएर हिमालको चुचुरो चुम्ने रहर पालेका विदेशी पर्यटकहरुलाई हिमाल चढाउने बहादुरहरुको कथा हो ‘हिउँमाझी’ । नामको भन्दा पनि दुःख टार्न दामकालागि काम गर्नेहरुको साँचो इतिहाँस बोलेको छ कथाले । कथाकार स्वंयमले निकै कठोर अध्ययन अनुसन्धान गरेरमात्र लेखेका हुन यो कथा । ‘हिउँमाझी’ पढ्दै जाँदा पाठकको मनले माउण्ट एभरेष्ट चढन थाल्छ पात्रहरुसँगै र कथा अन्त्य हुँदा एकसरो हिमाल नै सबै भोगीसक्छ । कथाको बलियो आधार यो भन्दा अरु के नै हुनछर ? कथाकारले पाठकलाई आफैसँग लिएर हिँडने आफैसँग ल्याएर फेरी उही ठाउँमा छाडिदिने गर्छन । तर यो कथामा सँगै हिँडेका कथाको पात्रले सम्झनामा मात्र दिँदैनन् । शिक्षा, संघर्ष, वस्तुपरक जानकारी पनि पाउन उतिकै प्रदान गरिदिन्छ । नेपाल राष्ट्रप्रतीको अगाध स्नेह, आफ्नै माटोमा रमाउनुको गौरव यस कथामा भेटिन्छन । मिङमा यस कथाको मुख्य पात्र हुन । उनी समग्र पर्वतारोहीहरुको पथ प्रदर्शक प्रतिनिधी पात्र ‘हिउँमाझी’ हुन् । हुन त कथामा भएका अन्य शेर्पाहरुपनि उतिकै महत्वपूर्ण छन । एक अर्काको सहकार्यविना यो काम सहज छैन । यो कथाले दिएको मिठो सन्देश हो । भने मिङमाले अन्तिममा आएर नेपाल छाडेर कतै नजाने विचार ‘बोनिटा’लाई भनिरहँदा देशप्रेमको अत्यन्त प्रष्ट छाँया कथामा रहेको छ ।

‘हिउँमाझी’ पढिरहँदा मिङमाको ठाउँमा तिखेलाई हेर्न मनलाग्छ । शिर्षक सार्थकताका हिसाबले नाम्लो र हिउँमाझी कथाको भुगोल र विषय मिलेको भएपनि यर्थातमा परक परिवेशमा बगेका कथाहरु रहेका छन । लुक्लाको एअरपोर्टबाट नाम्चे सम्मको पाटो ‘नाम्लो’ कथाले बोकेको छ । भने साँच्चै हिमाल चढ्ने अभिलाषा बोकी आएका र सगरमाथाको सफल आरोहण गर्नेहरुले भोग्ने र खेप्नेहरुको कथा बनेको भने ‘हिउँमाझी’ नै हो ।

यस भित्र रहेका सबै कथाहरु उतिकै समान्दर्भिक र यथार्थपरक रहेका छन । सरुवा, बयान, नाकाबन्दी, हिजोको कुरा, जोखना आदी कथाहरु पनि उतिकै रमाईला र शिक्षामुलक छन । जसलाई चर्चा गर्न अर्को यस्तै विमर्शमा लाग्नु पर्दछ ।

समग्रमा कथाकारको कथाले जीवनलाई छुन्छ होइन अठ्याउँछ । कल्पनामा उड्ने होईन यर्थाततमा उभिन सिकाउँँछ । कथाकारको कथ्य शैली यसै भर्जिन भनिएको होईन उनी आफैमा सिर्जनात्मक छन । नेपाल प्रहरी जस्तो २४ सै घण्टा डिउटी गरिरहनु पर्ने सरकारी कार्यालयका जागीरे उनी डिउटीबाट बचखुचेको समयमा कथा लेख्छन । उनको जीवनको भोगाई, देखाई, र हेराईको मिलन विन्दु हो उनको सिर्जना । आफुले सरकारी जागीरको शिलसिलामा प्रत्यक्ष देखेका भोगेका कुराहरुलाई सामाजिकरुपमा सार्वजनीक गर्ने ढंगका निकै धनि उनका कथाहरुमा कल्पनाशिलता भन्दा बढी सत्य तथ्य घटनाहरुले नै घर गरेको उनले बताएका छन ।

‘हिउँमाझी’ अहिले देश दौडाहामा निस्केको छ । विदेशी भुमीहरुमा कुदिरहेको छ । सबैको आँखा अगाडि उभिएर नेपाल र नेपाली हुनुको अर्थ खोजिरहेको छ । उसले नेपालको एउटा सिँगो पहिचान दिलाउन आक पाठकहरुको बिचमा उभिरहेको छ । खासमा पढ्नु ज्ञान आर्जन गर्नुमात्र होईन आनन्दबोध गर्नुपनि एक हो भन्नेहरुका लागि यी दुवैकाम गर्न सक्ने एक संग्रह बनेको छ ‘हिउँमाझी’ । फोनिक्स बुक्सले मुद्रण गरेको यीनै ‘हिउँमाझी’ को जन्म दिने वियस राई र जन्माउने बेला सहयोग पु¥याउने सुडेनीहरु सबैलाई हार्दिक शुभकामना !

तपाईको प्रतिक्रिया