हलेसी खबर
खोटाङ, २० पुस । युवा नेता ढकमसेर राईको स्मृतिमा विभिन्न प्रतियोगिता हुने भएको छ । प्रस्तावित ढकमसेर राई स्मृति प्रतिष्ठानले वडा स्तरिय खुला भलिवल , खुला डबल व्याडमिन्टन तथा लोकदोहोरी प्रतियोगिता संचालन गर्ने भएको हो ।
आगामी पुस २६ देखि २९ गते सरस्वति मावि पाथेकाको खेल मैदानमा कार्यक्रम गर्ने तय भएको छ । २०७० साल असोज ७ गते राति चट्याङमा परेर ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ढकमसेर राईको स्मृतिमा कार्यक्रम गर्न लागिएको प्रस्तावित ढकमसेर राई स्मृति प्रतिष्ठानका अध्यक्ष अग्निप्रसाद राईले जानकारी दिएका छन् । ढकमसेर राईको साथीसंगी तथा शुभचिन्तकहरुले आर्थिक संकलन गर।ेर खेलकुदको कार्यक्रम गर्न लागिएको दिक्तेल बजारमा एक पत्रकार सम्मेलन गरेर जानकारी गराईएको हो । विशेष गरेर विदेशमा रहेका युवाहरुले ढकमसेर राईको स्मृतिमा विभिन्न खेलकुद कार्यक्रम गर्न आर्थिक सहयोग गरेको प्रतिष्ठानका खेल संयोजक सर्वधन राईले जानकारी दिए ।
तत्कालिन संघीय समाजवादीका जिल्ला उपाध्यक्ष रहेका राईको स्मृतिमा पाथेकास्थित सरस्वती माविको प्रांगणमा हुने प्रतियोगीतामा भलिबलका प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई क्रमशः ५१ हजार १ सय ११ रुपैयाँ, ४१ हजार १ सय ११ रुपैयाँ र ३१ हजार १ सय ११ रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने ढकमसेर स्मृति प्रतिष्ठानका अध्यक्ष अग्नीप्रसाद राईले बताए। यस्तै, खुला ब्याडमिन्टन प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुने टिमले क्रमशः ८ हजार १ सय ११ रुपैयाँ, ६ हजार १ सय ११ रुपैयाँ र ४ हजार १ सय ११ रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सर्वधन राईले बताए । विभिन्न देशमा रहेका दाता तथा संघसंस्थाबाट पुरस्कार प्रायोजन गरेर खेलकुद प्रतियोगीताको तयारी गरिएको हो ।
सोही अवसरमा लोकदोहोरी प्रतियोगीताकोसमेत आयोजना गरिएको ढकमसेर स्मृति प्रतिष्ठानले जनाएको छ । लोक दोहोरीमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने समूहलाई क्रमशः १० हजार १ सय ११ रुपैयाँ, ८ हजार १ सय ११ रुपैयाँ र ६ हजार १ सय ११ रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने ढकमसेर स्मृति प्रतिष्ठानले जनाएको छ ।
समाजसेवामा सक्रिया राईको स्मृतिका लागि गत असोज ८ गते ११ सदस्यीय स्मृति प्रतिष्ठानको तदर्थ समिति गठन गरिएको थियो । चट्याङ पर्दा ढकमसेर र उनका बाबु महन्तबहादुर राई र अर्का छिमेकी जय राईको सँगै मृत्यु भएको थियो ।