हलेसी खबर सम्वाददाता/
खोटाङ । खोटाङको बुईपामा भएको अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी ऐसेलुखर्क गाउँपालिकाले जितेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी खोटाङको आयोजनामा माघ ६ गते सोमबारदेखि संचालन भएको अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगीताको उपाधी ऐसेलुखर्क गाउँपालिकाले जितेको हो ।
ऐसेलुखर्क गाउँपालिकाले बाराहा पोखरीलाई सोझो ३ सेटमा जितेर आफुलाई प्रतियोगिताको विजेता बनाएको छ । शुक्रबार भएको भलिवल प्रतियोगिताको फाईनल खेलमा ऐसेलुखर्क गाउँपालिकाले लगातार ३ सेट जिते सँगै ऐसेलुखर्कले १ लाख ११ हजार ११ रुपैयाँको पुरस्कार हात पारेको छ ।
यस्तै उप विजेता बनेको बाराहा पोखरी गाउँपालिकाले ७७ हजार ७७७, रुपैयाँ प्राप्त गरेको छ । यस्तै तेस्रो स्थानमा पुग्न सफल रावावेसी गाउँपालिकाका खेलाडीहरुले ३३ हजार ३३३ रुपैयाँ हात पारेका छन् । सबै विजयी टिमलाई नगद सहित ट्रफि, मेडल र प्रमाण–पत्र समेत प्रदान गरिएको छ ।
खेलाडीको प्रोत्साहन र प्रवद्र्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित खेलमैदानमा प्रतियोगीताको आयोजना गरिएको हो । माघ ६ गते बाट शुरु गरिएको भलिवल प्रतियोगिताको प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका थिए । प्रतियोगीतामा जिल्लाका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका र दिप्रुङ गाउँपालिकाका ८ टिमको सहभागीता रहेको थियो ।