जिल्लाकै ठुलो धनराशी रहेको भलिवल प्रतियोगिताको उपाधी ऐसेलुखर्कले चुम्यो

Halesi Khabar
0 Shares

खोटाङ, खोटाङकै ठूलो पुरस्कार राशीरहेको भलिवल प्रतियोगिताको उपाधी ऐसेलुखर्क गाउँपालिकाले जितेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी खोटाङले आयोजना गरेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगीताको उपाधी उक्त गाउँपालिकाले जितेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित खेलमैदानमा आयोजित प्रतियोगिताको शुक्रवार सम्पन्न फाईनल खेलमा वराहपोखरी गाउँपालिकालाई हराउँदै ऐसेलुखर्कले उपाधी उचालेको हो । ८ समुह सहभागी लिग कम नकआउटको आधारमा सञ्चालन गरिएको प्रतियोगिताको फाईनलमा ऐसेलुखर्कले २५–१२, २५–११ र २५–११ कै सोझो सेटमा वराहपोखरीलाई हराएको रेफ्री सागर राईले वताए ।
विजयी समुहले समापन कार्यक्रमका प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालको हातवाट नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी र मेडल प्राप्त गरेका छन् । यस्तै, दोश्रो हुने समुहले ७७ हजार ७ सय ७७ नगद सहित ट्रफी र मेडलवाट पुरस्कृत भएका छन् ।
प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले सोमबार उद्घाटन गर्नुभएको प्रतियोगितामा रावावेंसी गाउँपालिका (ए) तेश्रो र दिपु्रङ चुईचुम्मा गाउँपालिका सान्तवना वनेका छन् । उक्त टिमले क्रमशः ५५ हजार ५ सय ५५ रुपैयाँ र शान्त्वना स्थान प्राप्त गर्ने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिएको मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष दिनेश साम्पाङले बताए ।

विभिन्न पालिकामा रहेका खेलाडीको प्रोत्साहन र प्रवद्र्धनका लागि वुइपा ईलाभेन स्पोर्टस क्लवको खेल मैदानमा आयोजना गरिएको प्रतियोगितामा ऐसेलुखर्क गाउँपालिकाका खेलाडी रोशन विक सर्वोत्कृष्ठ, सोही समुहका निरकाजी तामाङ विधागत उत्कृष्ठ र वराहपोखरीका किरण राई अनुशासित खेलाडी घोषित भएका छन् । तीनै जना खेलाडीलाई चम्पावती वुइपाका तर्फवाट प्रधानाध्यापक खगेन्द्र राईले जनही नगद १० हजार रुपैंयाँ पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगिताको समापन समारोहमा फुटवल, भलिवल लगायतका रेफ्री सागर राईलाई सम्मान गरिएको छ । राईलाई लामो समयदेखि जिल्लाको खेल क्षेत्रमा योगदान पु¥याएको भन्दै एकेडेमीले नगद १५ हजार रुपैंयाँसहित सम्मान गरिएको जनाईएको छ ।

समापन समोहमा एकेडेमीका १ नम्वर प्रदेश सचिव टिकाराम घिमिरे, वराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम वञ्जरा, दिक्तेल रुपाकोट मझुवागढी नगरापालिकाकी उपमेयर विणादेवी राई, वराहपोखरी गाउँपालिकाकी उपाध्यक्ष गोमा मगर, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य दिलचक्र राई, दिनेश राई, विनोद राई (संसार), नेकपा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सचिब गोपाल आचार्य, पत्रकार महासंघका अध्यक्ष दमन राई लगाायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया