हलेसीलाई “त्रिधार्मिक”स्थल भन्न उपयुक्त हुदैन !

Halesi Khabar
0 Shares

धनचन्द्र राई
प्रकृति, सँस्कार र सभ्यता यी तीन चिजहरु एक आपसमा परिपुरक विषय हुन् । जुन मानवको उत्पतिदेखि सभ्यता र विकाससँग प्रत्यक्ष सम्बन्ध राख्दछ । यी तीन चिजको सम्बन्धलाई सुमधुर, अटुट र भावनात्मक रुपमा बलियो बनाउँन धार्मिक साङ्लोले बिटा कसेको हुन्छ जुन चिजलाई अलग राख्न कदापी सकिँदैन, असम्भव हुन्छ ।

मानव सभ्यताको इतिहास हेर्ने हो भने कुवा, धारा, खोला, गुफा, ओडार र जङ्गलसँग प्रत्यक्ष रुपमा जैविक सम्बन्ध रहिआएको छ । पछिल्लो समय सँस्कृति र सभ्यतालाई सिधा धर्मसँग जोडेर हेर्ने चलन रह्यो, यो गलत नजिर हो । धर्मलाई मानिसले पौरानिक नियमसँग दाँजेर हेर्नु अर्थात अदृश्य शासकको सिपाही बन्नु नै गलत शुरुवात भयो ।

अहिले सन्सारमा लगभग दुई दर्जन धर्महरु मान्दै आएको देखिन्छ । खोटाङको हलेसी पूर्वी नेपालको एक प्रसिद्ध धार्मिक तथा प्राकृतिकस्थल हो । प्राकृतिक रुपमा एक आश्चार्यस्थलको रुपमा रहेको यो धार्मिकस्थलको बारेमा विभिन्न किंबदन्तिहरु छन् ।

खासगरि यसलाई पूर्वको पशुपतिनाथ नामले समेत चिन्ने गरिन्छ र पछिल्लो समय यातायातको सुविधासँगै हिन्दुधर्म अनुसार पशुपतिनाथमा विधिवत रुपमा गरिने पूजा र दर्शन हलेसीमा समेत गर्न थालिएको छ । नेपाल सरकारको तथ्याङ्क अनुसार हाल नेपालमा १२ प्रकारका धर्म मान्ने धमावलम्बिहरु छन् र त्यो तथ्याङ्कभित्र प्रकृतिलाई धर्म सरह मान्नेहरुको गन्ति छैन ।

धर्मको निश्चित परिभाषा छैन यद्यपी आ–आफ्नो धार्मिक आस्था अनुसार नै ब्याख्या, बयान छँदै छ । निश्चित रुपमा प्राकृतिकस्थलहरु धार्मिक स्थल बन्नका लागि आदिम बासिन्दाहरुको नै मुख्य भूमिका रहन्छ । हलेसी क्षेत्रका वरीपरी बसोबास गर्ने आदिम बासिन्दाहरु को हुन् ? हलेसीसँग के कस्तो आस्तिक सम्बन्धछ ? हलेसीको स्वामित्व कोसँग नजिकिदै छ ? हाल आएर किन हलेसीलाई “त्रिधार्मिकस्थल” भन्न थालियो ? यी प्रश्नहरु सुन्दा हलुका लागे पनि युगान्तकारी प्रभाव पार्ने विषय हुन् ।

नेपालको इतिहासलाई हेर्ने हो भने किराँतकालदेखि मात्रै अभिलेखकको शुरुवात भएको पाइन्छ । धार्मिक हिसाबले हेर्दा पशुपतिनाथको मन्दिरमा भएको सबैभन्दा पुरानो मुर्ति किराँत कालिन मुर्तिहुनुले के प्रष्ट देखिन्छ भने पशुपतिनाथ किराँतीहरुको पनि आस्थाको स्थल थियो तर समय शासन कालखण्डसँगै नाम परिवर्तन भयो, स्वामित्व खोसियो र अन्तिममा गुमनाम बनाइयो ।

किराँतीहरु प्रकृति पुजक हुन् । जल, जमिन र जङ्गल भएको ठाउँहरुमा खासगरी पूजा गर्ने चलन हुन्छ । यो संस्कारलाई नियाल्दा पशुपति क्षेत्र र हलेसी क्षेत्रको प्राकृतिक बनौट धेरैहदसम्म उस्तै उस्तै देखिन्छ । हाल आएर पशुपतिनाथ हिन्दुत्वकरण भयो, त्यतिमात्र नभएर हिन्दुत्वको जगमा टेकेर पशुपतिनाथको मूख्य पुजारी नै हिन्दुस्तानबाट नियुक्ति गर्ने र वार्षिक हजारौँ नाङ्गा बाबाहरुको अस्लिल लिला प्रदर्शन गर्ने हर्कत समेत छुट दिनुले आज पशुपतिनाथको स्वामित्वमाथि नै प्रश्न छ र यहि डिजाईन नै हलेसीमा समेत प्रयोग गर्ने र स्वामित्व हडप्ने दुरगामी सपना देखिसकेको छ ।

खासगरी हिन्दु, बौद्ध र किराँत (आत्मनन्द लिङदेन) धर्मावलम्बीहरुले हलेसीलाई आफ्नो स्वामित्व भित्र राखेर त्रिधार्मिकस्थल भन्न खोजेको भए पनि विषेशतः हिन्दु धर्मावलम्बीको प्रभाव र प्रत्यक्ष गतिविधिले गर्दा नै आज “पूर्वको पशुपति” भनेर ट्याग हालिदिएको हो । साँस्कृतिक सभ्यता र नेपालको इतिहासलाई अध्ययन गर्दा नेपालको पूर्वी भेगका आदिम् बासिन्दा किराँती हुन् भन्नेमा कुनै दुईमत छैन ।
हलेसीकै इतिहास हेर्ने हो भने पनि हलेसी पत्ता लगाउने पहिलो व्यक्ति नै किराँती राजा हुन् भनेर पूर्व पुजारी बृजेन्द्र गिरीले भन्नु भएको थियो । समयको कालखण्डसँगै सत्तामा भएका उतारचढावले पछिल्लो समय सत्तामा बसेकाहरुले ‘फुटाउने र हत्याउने’ नीति लियो त्यहि कारण राज्यसत्ताबाट बहिस्करणमा परेका र राजनीतिक मुलधारमा पहुँच नभएको समुदायलाई विभिन्न कित्तामा बिभाजित गरेर (जातीय, धार्मीक, साँस्कृतिक) आदिम समुदायको एकता शक्तिलाई क्षण बनाउने काम ग¥यो । यस्को मुख्य उद्देश्य भनेको नै आदिम् बासिन्दाहरुको स्वामित्वमा रहेको प्राकृतिक सम्पदालाई हडप्नु थियो ।

हलेसी आफैमा एक आश्चार्य प्राकृतिकस्थल हो । समय बित्दै जाँदा यसलाई विभिन्न धार्मिक मान्यता अनुसार नै पुज्नु, नाम राख्नु र धार्मिकस्थलको रुपमा बयान गर्न थालियो । धार्मिक रुपमा पबित्र मानेर प्रकृतिलाई पुज्नु नराम्रो होइन अझ यसले प्रकृतिको बिनास हुनबाट बचाउँ छ तर धार्मिक आस्था र मान्यता अनुसार पुज्ने तरिका र स्थान हुन्छ ।

कृश्चियन धर्मले चर्चमा, बौद्ध धर्मले गुम्बामा, मुस्लिमले मस्जिदमा, किराँत धर्मले माङखिममा गरे जस्तै हिन्दु धर्मले पनि मन्दिरमा पुजा गर्ने हो । तर प्रकृति पुजक किराँतीहरुले खोलामा पुजा गर्छन् , जंगलमा पुजा गर्छन् , ओडार गुफामा पूजा गर्छन् किनकी यी सब मानव सभ्यतासँग प्रत्यक्ष जोडिएर आएका विषय हुन् ।

हलेसी किराँतीहरुको सभ्यताको ऐतिहासिक थलो हो, यो कुरा किराँतीहरुको आफ्नो मुन्धुममा र कुलपितृ गर्दा समेत आउँछ तर आज हलेसीलाई त्रिधार्मिकस्थल भनेर आदिम किराँतहरुलाई उपेक्षा गरिसकेको अवस्थाछ । अब कुरा के गर्न सकिन्छ भने, किराँत सभ्यतासँग जोडिएको पवित्र प्राकृतिकस्थल हलेसीमा हाल के कस्तो गतिविधि भइरहेको छ ? भबिष्यमा हलेसीको स्वामित्व कुन धर्मले लिँदैछ ? र आदिम किराँतीहरुको आस्तिक सम्बन्ध र स्वामित्व के रहन्छ ? यो विषय आजको बहसको विषय हुन् ।
यदि सरोकारवालाले यो विषयलाई बहसको रुपमा नउठाए भोलि पशुपतिनाथको जस्तो अवस्था निश्चित आउँछ । हिजो पशुपति सबैको साझा थियो तर आज हिन्दुधर्मावलम्बी र हिन्दुस्तानको भइसकेको छ । यो कुराको पनि चेतना भया ।

नेपालमा भएको आदिबासी आन्दोलन मार्फत नेपाल सरकारले संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठनको धारा १६९ -International Labour Organization, ILO-169_ मा आदिबासी र प्राकृतिक थाँत थलोहरुमा आदिबासीको अग्राधिकार सम्बन्धि व्यवस्थामा नेपालले पक्षकको तर्फबाट हस्ताक्षर गरेकोछ र यो विषयमा स्पष्ट व्याख्या छ, यसैै दृश्टिकोणबाट हेर्ने हो भने प्राकृतिकस्थल हलेसीको अग्राधिकार कोसँग रहन सक्छ ? तर यो विषय सुन्न चाहाँदैन नेपाल सरकार किनकी नेपाल सरकारलाई आदिबासीको हकअधिकारको विषय आफ्नो विषय नै लाग्दैन ।

अर्को प्रश्न, के मानिस धर्म बिहिन पनि हुन सक्छन त ? अवश्य पनि हुन्छ, हाम्रो छिमेकी राष्ट्र चिनमा जम्मा जनसंख्याको ८० प्रतिशत मानिसले कुनै किसिमको धर्म मान्दैनन् । तर आफ्नो समुदायभित्रको सँस्कार रित पक मान्ने गर्छन् ।

ल्याटिन अमेरीकी देश र अफ्रिकन देशहरुमा पनि धेरै मानिसहरु धर्म मान्दैनन् तर सँस्कारलाई मान्दछन् । त्यस्तै नेपाल लगायत विभिन्न मुलुकमा बसोबास गर्ने किराँत समुदायको पनि प्रायः धर्म मान्ने चलन छैन, सँस्कार र सँस्कृति नै समुदायको मुल्यमान्यता हुन् । प्रकृतिलाई पूजा गर्नु -Universal Pray_ किराँतीहरुको सँस्कार हो । तर छोटो समयमा हलेसीमा भएको हिन्दुत्वकरण र “त्रिधार्मिक”स्थल भन्ने नामले यो बहसको विषय निश्चित उठाएको छ ।
सम्पर्क नम्बर ः ९८४२९३२७००
इमेल ठेगाना ः [email protected]

तपाईको प्रतिक्रिया