जोतारो फुस्केको राजानीति

Halesi Khabar
0 Shares

भीम राई/

गाउँ घरमा हलो जोत्न जो कोहीले जानेकै हुन्छ । हलो जोत्नु भनेको एक हल गोरु नारेर जुवा काँधमा हालेपछि दुईवटा शैलामा डोरी बाँधेर जोतारो कसिन्छ । जुन जोतारोको सहयोगले गोरुलाई नियन्त्रण गर्ने सिधा बल गर्दा हिँड्न सजिलो हुने भएकाले डोरीको प्रयोग गरिएको हो ।
सबैले जाने बुझेको कुरा केहो भने बारी जोत्न हल गोरु छ । हलो तयारी छ । हलुँडो, जुवा, शैला, ठेँडी सबै सबै भएपनि जोतारो खुस्काइयो भने जमिन जोत्न सकिन्न । यस्तै अहिले हाम्रो राजनीतिक दलका नेताहरुले बारी त जोत्न खोजेकै छन् । तर जोतारो भने फुस्काइएको छ । जोतारो फुस्किएपछि बारी जोतिन्न न गोरु हिँडछ न हलो तान्छ ? यो हाम्रो दुर्भाग्य नै हो ।

जनताले भारी जनमतले नेपाल कम्यनिष्ट पार्टी (नेकपा)लाई बारी जोत्ने जिम्मा दिएको छ । यहि बारीमा राम्ररी खनजोत गरेर नेपाल भन्ने देशलाई सुन्दर बनाउने अधिकार जनताको जनमतद्धारा प्राप्त गरेको भएपनि अहिलेको राजनीतिक कार्यकर्ताहरुले भने जोतारो फुस्काइदिएर जोतेको नाटक मञ्चन गरिरहेका छन् । गोरुलाई मेलामा उभ्याइएकै छ । हलो जुवा काँधमा भिराईएकै छ । तर जोतारो कस्न नसकेको पनि हैन नजानेको कारण हाम्रो विकासमा बाधा परिरहेको छ ।

केही समय अगाडि खोटाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गाउँपालिका र त्यसका आसपासमा डुल्ने अवसर पाइयो । विकासको कामहरु भरिभराउ नै छ जस्तो लाग्नेगरि घुमियो पनि । तर भने जस्तो विकास भने पाइएन । समयचक्रले ल्याउने विकास भन्दा फरक किसिमले तुलानात्मक विकास भएकै छैन । केही भवनहरु बनेका छन् । सडकहरु अर्सेल्ल लम्बे ताँत छन् ।

एउटा गाउँमा पुग्न तीन÷चार वटा सडकका ट्र्याक खुलेका छन् । कति सडकका ट्र्याक निकै पुरानो भएकाले दुवो फेलिएको छ । कतिपय सडकको ट्«याकमा कोदोको नल भर्खरै काटिएका छन् । हेर्दा रमाइलै लाग्नेगरि खनिएको सडकको सञ्जालमा कोदो मकै छर्न थालिएछ । दुवो मौलाउन थालेछन् । के यी सबै विकासको अनुकम्पाले नै गराएको हो त ? जिज्ञासा बढ्दो छ ।

जनप्रतिनिधीहरुलाई आरोपको ओइरो छ । कामको गुणस्तर नभएकामा जनताहरु रुष्ट हुन थालेको पाइन्छ । योजना वितरणमा धेरथोर असन्तुष्टि रहने भएपनि दिइसकेको योजनाको काम हेरेपछि व्यापक आलोचना हुन थालेको छ । जनप्रतिनिधिहरुले गरेको काममा पक्षपात भएको तीनै जनप्रतिनिधिलाई विजयी गराउने राजनीतिक दलका नेताहरुले आरोप लगाउन थालेको पाइन्छ ।

आफ्ना आफन्त तथा नजिकको नाताको वरीपरि मात्र योजना उपभोक्ता समितिहरु बनाएको गम्भिर आरोपहरु आउन थालेको छ । योजनाको उपभोक्ता समितिका अध्यक्ष आफ्नै भाइबन्धु तथा नाता आफन्त राखेपछि अनुगमनमा समेत अफ्ठ्यारो हुने नै भयो । अनुगमन प्रभावकारी हुनै नसक्दा जनताले चाहेको जस्तो भरसीलो विकासमा बाधा पुगेको छ । जसले आलोचनात्मक हिसाबले योजनाहरुको सञ्चालनमा सुधारको खोजि गर्छ उसलाई सिधै विरोधीको सङ्ज्ञा दिइनुले राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिबीच दूरी बढ्न थालेको छ ।
यी माथिका कुराहरुकै कारण जनतामा लोकप्रियता खुम्चिन थालेको आभास हुन्छ । राजनीतिक पार्टीका नेताहरु जाँदा मञ्चको अगाडि बसिदिने मान्छेको सँख्या खुम्चिदै गएको छ । नेताहरुले भाषण गर्दा धेरै कुरा गरेको बताउँछन् । केही कामहरुको पहल भइरहेको सुनाउँँछन् । तर गाउँमा त्यस्को कुनै चित्र नभेटेपछि जनता निराश छन् ।
आफ्ना असन्तुष्टि सिधै राख्न नसक्नेहरुले मनमा अर्को निर्वाचन कुरीरहेका छन् । ‘अब दुई वर्ष त होनी ।’ उनीहरुको एउटै आवाज छ ‘गाउँमा आउने अलिक टाठा बाठाहरु भागबण्डामा मिली हाल्दा रहेछन् । हामी त हेरेको हे¥यै हो ।’ सामुहिक पीडा छ । हाम्रा सबैको पीडा यस्तै हुन् भन्ने यो जमातले राजनीतिप्रति नै उदासिनता देखाउँन थालेको पाइन्छ । यो राजनीतिप्रतिको उदासिनाताले हामीलाई र हाम्रो समाजलाई कता डो¥याउँदै छ । बुझ्ने बेला आएको छ । यसबेला राजनीतिक दलमा रहेका पदाधीकारी तथा नेताहरुले खै गर्ने बेला भएको छ । भने सार्वजानिक पदमा पुगेका जनप्रतिनिधिहरुले सच्चिने बेलापनि आएको छ ।

बाक्सिला बजारका पुराना बामपन्थी अगुवा तथा पूर्व गाविस अध्यक्ष समेत रहेका हरिश्चन्द्र राईकै शब्द सापटी लिने हो भने ‘अहिले हामी सर्वहाराको राजनीति भन्दा सर्व आहाराको पो राजनीति गर्दै छौँ की ?’ यो निकै जोखिमको अवस्था हो ।

बग्रेल्ती समस्याहरुको चाङ लागेका छन् । समस्याहरुको खोजविन गर्नुपर्दछ । जनता जनार्दनले दिएको विश्वासको अपमान नहुनेगरि काम गर्ने हो भने जमिन उर्वर छ । उर्वर जमिनमा खेती लगाउन नेताहरुले गोरुको काँधमा जुवामात्र चढाएर हैन जोतारो कस्नै पर्छ । जोतारो नकसी गोरु खेदेर जमिन जोत्ने दृष्टता गरेमा परिणाम सँधै आफ्नै पोल्टामा रहि रहन्छ भन्न सकिन्न । सबैको चेतनाको ढोका खुल्योस ! शुभकामना
लेखक प्रेस संगठन नेपालका केन्द्रिय सदस्य हुन ।

तपाईको प्रतिक्रिया