खोटाङ, २ फागुन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा ग्लोवल आइएमई बैङ्कको शाखा उद्घाटन गरिएको छ । गत साउन–२२ गतेदेखि कारोबार शुरु गरेको बैङ्कको शाखा शुक्रबार औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नगरपालिकाका उपप्रमुख विणादेवी राई, ग्लोवल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल र खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपिनकुमार राईले संयुक्त रुपमा रिवन काटेर बैङ्कको शाखा उद्घाटन गर्नुभयो । विगत १३ वर्ष अघिदेखि बैङ्किङ सेवा प्रदान गर्दै आएको उक्त बैङ्कले देशका विभिन्न जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा दिक्तेलमा शाखा विस्तार गरेको हो ।
जनता बैङ्क नेपालसँग आपसमा गाभिएर गत मङ्सिर २० गतेदेखि एकीकृत कारोबार शुरु गरेको ग्लोवल आइएमई बैङ्कले हाल २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैङ्किङ सेवा मार्फत विभिन्न जिल्लामा सेवा प्रदान गरिरहेको जनाएको छ ।
चालु आर्थिक वर्ष थप ५९ शाखा विस्तार गरेर देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको बैङ्कको अध्यक्ष ढकालले बताउनुभयो । छरिएर रहेको स–साना पूँजीलाई संकलनगरि साना तथा मध्यम उद्यम व्यवसाय तथा कृषि क्षेत्रको आधुनिकीरणलाई टेवा पु¥याउने उद्देश्य लिएर स्थापित बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजत प्राप्त गरिसकेको जनाएको छ ।
खोटाङमा हालसम्म ग्लोवल आइएमई बैङ्कको ग्राहक संख्या करीब ६०० को हाराहारीमा पुगेको शाखा कार्यालय दिक्तेलका प्रमुख युवराज खत्रीले बताउनुभयो । मध्यपहाडी लोक मार्गले छोएको दिक्तेल–हलेसी सडक कालोपत्र भएसँगै दिक्तेलबजारमा बैङ्क तथा वित्तीय संस्था खुल्नेक्रम बढेको छ ।