अलिनो महोत्सव !

Halesi Khabar
0 Shares

भीम राई
जिल्लाको पर्यटन प्रवद्र्धन गर्न खोटाङको दिक्तेलबजारमा दशदिने ‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’ चलिरहेको छ । जिल्लाको मुटु हो दिक्तेलबजार । जुन ठाउँमा महोत्सव चलिरहेको छ । त्यहाँको रौनक र स्थानीयले विभिन्न अपेक्षा राखेका हुन्छन् ।

जिल्लाको प्रकुख व्यापारिक केन्द्र दिक्तेलबजारमा चलिरहेको महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धन हुने अपेक्षा राखिन्छ । महोत्सवमा स्थानीय व्यापारीहरुको व्यापार बढ्ने । स्थानीयस्तरमा उत्पादन गरिने सामग्रीहरुको बजारीकरण गर्न सहयोग पुग्ने आशा राखिन्छ । जिल्लामै पहिलो पटक आयोजना गरिएको महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धन हुने अपेक्षा हुने नै भयो ।

आन्तरिक तथा बाह्य पर्यटकहरुको व्यापक आगमन हुन्छ भन्ने आशा राखिन्छ । सबै कुरा गर्नलाई महोत्सवलाई सरकारी तथा गैर सरकारी कार्यालयहरुले समेत महोत्सव सफलताको लागि बजेट उपलब्ध गराउन सक्दछ । प्रथम खोटाङ दिक्तेल महोत्सवमा पनि गरिएको यहि हो । जुन महोत्सव सफलताका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

विभिन्न सङ्घ संस्थाहरु अहोरात्र लागेका नै हुन् । लागिरहेका नै छन् । माननीय मुख्य मन्त्रिले स्वयम् उपस्थित भएर उद्घाटन गरेको महोत्सव भने अलिनो देखिएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहित गर्नु पर्ने ठाउँमा अझ निराशा थपिएको जस्तो देखिन्छ ।

महोत्सव स्थलमा हेर्दा महोत्सव हैन कुनै ठाउँमा पर्व विशेष मनाइने मेला या जात्रा भन्दा महोत्सव माथि जान सकेको देखिन्न । आर्थिक सम्पन्नताका लागि जिल्लामा महोत्सव गर्न लागिएको भनिएको मेलामा स्थानीय उत्पादन बिरलै पाइन्छ । सामान्यतया महोत्सवको घेराबार भित्र पसेर हेर्दा स्थानीय उद्योगी व्यवसायीहरुको स्टल नगन्य छ । बाहिरबाट आएका र ल्याइएका व्यवसायीहरुको बिगबिगी बढेको छ ।

बालबालिकालाई मनोरञ्जन दिने खेलहरुको अलवा युवापुस्सता तथा माथिकाहरुलाई मनोरञ्जन दिने साँगीतिक कार्यक्रमहरुमा स्थानीय साना साना कलाकारहरु बाहेक जिल्लाको कुनै कलाकारलाई बोलाइएको छैन । मुल आयोजकले महोत्सवको सम्पूर्ण व्यवस्थापन गर्नुपर्नेमा केही त्रुटिहरु देखिएको छ ।

महोत्सव एउटा ऐतिहासिक र सान्दर्भिक समयमा भएको भएपनि यसको कुशलता पूर्वक व्यवस्थापन गर्न परामर्शहरु हुन सकेनन् । उद्घाटन भएकै समयमा कार्यक्रममा भद्रगोल शुरु भयो । एउटा औपचारिक कार्यक्रममा औपचारिक मर्यादालाई आयोजकहरुले ध्यान नदिँदा कार्यक्रममा खल्लोपना शुरु भयो । यसले कार्यक्रमको गरिमा घट्यो कि बढ्यो ? उनै पात्रहरुले जानुन् । तर आजको दुनियाँमा जग हँसाउने किसिमको कार्यक्रमको सेडुल भएपछि एक किसिमको सन्देश गइ नै हाल्छ भयो त्यस्तै ।

कुरा यतिमात्र होइन यस अगाडि नै महोत्सवको तयारीहरु हुँदै गर्दा आयोजकले जुन किसिमको महत्वको बारेमा सञ्चार गरेको थियो । त्यो अनुसार कार्यक्रम अगाडि बढ्न सकेन र स्टलहरुमा घोषणा गरिएका सामग्रीहरु सङ्कलन गर्न सकिएन ।

महोत्सवमा स्थानीय कृषि उपज, जडिबुटी, ह्याण्डीक्राफ्ट, राष्ट्रिय कृषि प्रविधि, औधोगिक उत्पादन, बैङ्क तथा वित्तीय संस्था र सेवा, अटोमोबाइल, सवारी साधन, फ्लोरिकल्चर, गार्मेन्ट लगायतका १२० वटा स्टल रहने भनिएको थियो । कतिपय स्टलहरु खाली नै रहनुले तयारी नपुगेको हो की भन्ने प्रश्न जन्मेको छ ।

उद्घोष गरिएका जस्तै सूचना प्रविधि प्रदर्शनी, कृषिजन्य वस्तुको प्रतियोगितात्मक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातीय खानाका मौलिक परिकारको बिक्री तथा प्रदर्शनीहरु छुटेका छन् । पहिलो पटक जिल्लामा आयोजना गरिएको महोत्सवले एउटै थलोमा विभिन्न व्यवसायीबीचको जमघट हुने र सिक्ने र सिकाउने अवसर सिर्जना हुने अपेक्षा राखिएको भएपनि खास उपलब्धीमूलक कार्य भएको जस्तो देखिन्न ।

महोत्सव सञ्चालनको जिम्मा ठेक्का शैलिमा भएको गुनासाहरु आएका छन् । कला र सँगीतको दुनियामा राष्ट्रियस्तरमा चर्चा बटुलेका स्थापित खोटाङे कलाकारहरु हुँदा हँदै जिल्लामा उनीहरु बाहेकका कलाकारहरुको उपस्थिति गराएको दुखेसो बजारमा आएको छ । जिल्लामा भइरहेको यत्रो महोत्सवमा साहित्यको पाटालाई पुरै बेवास्ता गरिएको छ । समृद्ध नेपालको अभियानमा महोत्सवले टेवा पु¥याउँछ भन्ने अपेक्षा गरिएको विषय अझ गम्भिर बनेर आएको छ ।

महोत्सवले जिल्लाका व्यवसायीहरुलाई फाइदा हुने र अहिले व्यापार मन्दिका कारण थङथिलो बनेको व्यवसायीहरुलाई यो महोत्सवले केही हदसम्म राहतको महशुस गराउँछ भन्ने आशा तुषारापात भएको छ । तर ठीक विपरित जस्तै सबै व्यवसायीहरु बाहिरबाट आएका छन् ।

खाने होटलदेखि बेचिने कपडा समेत बाहिरकै व्यवसायीहरुको छ । बालउद्यान तथा त्यहाँ खेलिने खेलहरु खेलाउन बाहिरबाट मान्छे ल्याइयो । बाहिरका कलाकारहरु ल्याइयो । यी सबै ल्याएर जिल्लामा रहेका आम नागरिकको खल्तीमा भएको अलि अलि भएपनि पैसा बाहिरै पठाइयो । यसले महोत्सव आयोजना गर्नुको मजा खास लागेको देखिदैन ।

हाम्रा उद्योगी व्यवसायीहरुलाई प्रोत्साहित गर्न पथ्र्यो त्यो पुगेन । हाम्रा उत्पादनहरुलाई महोत्सवस्थलमा ल्याएर प्रर्वद्धन गर्नका लागि स्टलको मुल्यमा हेरफेर गर्न सकिन्थ्यो । जिल्लामा भएका उत्पादनहरु घरबुना खाँडी, हाते कागज, बाँस बेतका सामग्रीहरु, राडीपाखी जस्ता कुराहरुलाई राख्न सकेको भए महोत्सवको सार्थकता रहन्थ्यो ।

अझ भनौँ महोत्सवलाई रौनकता दिन स्थानीय सँस्कृतिहरुको प्रदर्शनीलाई दैनिक बनाउन सकिन्थ्यो । हामीसँगै भएका सँस्कृतिहरु सँगिनी, वालन, साकेला सिली, मारुनी, लाखे नाच, लोक जुवारी जस्ता कार्यक्रमहरु समेटेर दैनिक एकएक दिन कार्यक्रम राख्न सकेको भएमा अझ महोत्सवको रौनकता बढ्न सक्थ्यो ।

यी सबै नहुँदा महोत्सव अलिनो भएको छ । अलिनो महोत्सव आम मानिसहरुलाई खास स्वादिलो लागेको छैन । कार्यक्रम गर्दा परिपक्व टिम भएपनि व्यवस्थापकीय हिसाबले केही कमीकमजोरी रहन्छन् नै तर, कुनै कुनै घटनाहरुले कार्यक्रम आयोजना गर्ने निकाय वा संस्थाको गरिमा बढ्नुका साटो घट्न जान्छ । यो कार्यक्रमले कसो ग¥यो ? उत्तर आफैले खोजे आगामी दिनलाई सहज नै हुने छ ।
लेखक ः प्रेस ङ्गठन नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया