खोटाङ, ९ फागुन । नेपाली सेनाले आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा कर्मचारीको टोली विजयी भएको छ । सेना दिवसको अवसरमा शुक्रबार गोरखनाथ गण मुढे ब्यारेकले आयोजना गरेको राष्ट्रसेवक कर्मचारी र जिल्लाबासीबीचको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा कर्मचारीको टोली विजयी भएको हो ।
बेस्ट अफ फाइभ अन्तरगत खेलाइएको खेलमा कर्मचारीले तीन र जिल्लावासीले एक खेलमा मात्र जित हात पारेको गणपति भोला पाण्डेले जानकारी दिनुभयो । कर्मचारीले १६–२५ र २०–२५ मा सरासर दुई खेलमा जित हात पारेपछि सञ्चालन गरिएको तेस्रो खेलमा जिल्लावासीले १५–२५ जित हात पारेको थियो ।
फाइनल खेलमा कर्मचारीको तर्फबाट १३–२५ तेस्रो जित हात पार्दै उपाधिमाथि कब्जा जमाएको गणपछि पाण्डेले जानकारी दिनुभयो । सेनाको ब्यारेक मुडेकै खेलमैदानमा सञ्चालन गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई संविधानसभा सदस्य पाँचकर्ण राई, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख बिणादेवी राईले ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
राष्ट्रसेवक कर्मचारी तथा नेपाली सेना र जिल्लावासीबीच खेलकुदको माध्यमबाट आपसी सम्बन्ध कायम गर्ने उद्देश्यले मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरिएको गणपति पाण्डेले जानकारी दिनुभयो । सोही कार्यक्रमको अवसरमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र गणका गणपति पाण्डेले सेनाका विभिन्न विद्याका उत्कृष्ट जवानलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।