खोटाङ, ९ फागुन । गोरखनाथ गण बुडे ब्यारेक खोटाङले सेना दिवस २०७६ को अवसर पारेर आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २२४ जना स्थानीयवासीले सेवा लिएका छन् । रावाबेँसी गाउपालिकाको केन्द्र हरमटारस्थित कुभिण्डेमा आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा १४५ जना महिला र ७९ जना पुरुषगरि २२४ जना स्थानीयवासीले सेवा लिएका हुन् ।
शिविरमा बिशेषगरि पाठेघर, नाक, कान, घाँटी र आँखा रोग सम्बन्धी सेवा प्रदान गरिएको आयोजक गोरखनाथ गणका गणपति भोला पाण्डेले बताउनुभयो । गोरखनाथ गणको आयोजना, रावाबँेसी गाउँपालिकाको व्यवस्थापन एवम् जिल्ला स्वास्थ्य कार्यालय दिक्तेल र नेत्र ज्योति सङ्घ खोटाङको सहयोगमा सञ्चालित शिविरमा कुभिण्डे, खार्पा, डुम्रेधारापानी, दुवेकोल, हौँचुर, लामिडाडा लगायतका स्थानीयवासीले सेवा लिएका थिए ।
शिविरमा सहभागी स्थानीयवासीलाई उपचारका साथै निःशुल्क औषधि समेत वितरण गरिएको जनाइएको छ । जिल्ला अस्पताल दिक्तेलका मेडिकल विशेषज्ञहरुको सहभागितामा सञ्चालन गरिएको शिविरमा गाउँपालिकाका प्रमुख लिलानाथ निरौला, उपप्रमुख समला राई, प्रमुख प्रशासकीय अधिकृत रेख हादुर थापा लगायत उपस्थित रहनुभएको थियो ।