खोटाङ, १५ फागुन । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नाराङ्गामा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । कृषकले उत्पादन गरेका र उपभोग गरेर बाँकी रहेका कृषि उपजलाई केन्द्रमा सङ्कलन गरेर बिक्री गर्न वडा नम्बर–५ सप्तेश्वर छितापोखरीस्थित नाराङ्गामा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको हो ।
गाउँपालिकाको रु चार लाख ५० हजार अनुदान र दिप्रुङ चुइचुम्मा सप्लार्यसको रु दश लाख लगानीमा निर्माण गरिएको तरकारी सङ्कलन केन्द्र बिहीबार गाउँपालिका भुपेन्द्र राईले उद्घाटन गर्नुभयो । सङ्कलन केन्द्र स्थापना भएपछि कृषकले उत्पादन गरेका कृषि उपजहरु खेर नजाने र उचित मुल्य पाउने अपेक्षा गरिएको छ ।
सङ्कलन केन्द्रमा तत्कालका लागि चाँडो नबिग्रने कृषि उपजहरु मास, बोडी, भटमास, अलैची, बेसर, अदुवा, सुन्तला, कागती, मह, अम्लिसो, स्याउ, किवी, गुन्द्रुक, सिन्की, खुर्सानी, प्याज, फर्सी, काक्रा, आँप, लिची, आरु, नास्पाती जस्ता कृषि उपज बिक्री गर्न सकिने सप्लार्यसका सञ्चालक पवन राईले बताउनुभयो । “गाउँपालिकाले निर्धारण गरेको मुल्य अनुसार उनीहरुको घरमै गएर कृषि उपज खरिद गरेर सङ्कलन केन्द्रमा जम्मा गरिनेछ”, उहाँले भन्नुभयो, “ किसानबाट खरिद गरिएका कृषि उपजलाई सङ्कलन केन्द्र तथा अन्यत्र लगेर बिक्री तथा वितरण गर्ने तयारी गरेका छौँ ।”
गाउँपालिकाभित्रका कृषकको लागि बजारको सुनिश्चितता गर्नका लागि तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “गाउँमा उत्पादित बिक्री केन्द्र तथा सङ्कलन केन्द्र नहुँदा खेर गइरहेको छ”, उहाँले भन्नुभयो, “कृषकलाई कृषि पेशामै आत्मनिर्भर बनाउन सङ्कलन केन्द्र स्थापना गरिएको हो ।”
बिग्रने किसिमका कृषि उपजका लागि पनि चाँडै थप उपकराण जडान गरेर सङ्कलन गर्ने तयारी गरिएको जनाइएको छ । सङ्कलन केन्द्र स्थापना भएसँगै आफूहरुले उत्पादन गरेको कृषि उपज खेर नजाने भएपछि सो क्षेत्रका कृषक हर्षित भएका छन् ।
दश स्थानीय तह रहेको जिल्लामा तरकारी सङ्कलन केन्द्र स्थापना गर्ने उक्त गाउँपालिका पहिलो हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अन्य स्थानीय तहले पनि सङ्कलन केन्द्र स्थापना गर्ने पहल थालेका छन् ।