दादुरा–रुवेला बिरुद्ध दोस्रो चरणको खोप अभियान शुरु

Halesi Khabar
0 Shares

खोटाङ, १५ फागुन । दादुरा–रुवेला बिरुद्धको खोप अभियान अन्तरगत खोटाङमा दोस्रो चरणको अभियान शुरु भएकोे छ । ‘नेपालबाट दादुरा–रुवेला खोप पूर्ण रुपमा निवारण गरौँ’ भन्ने नाराको साथ स्वास्थ्य मन्त्रालयले शुरु गरेको राष्ट्रिय खोप अभियान अन्तर्गत बिहीबारदेखि खोटाङमा दोस्रो चरणको खोप अभियान शुुरु गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयमा आयोजना गरेको खोप अभियान अन्तरगतको कार्यक्रम प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो । उद्घाटनपछि सदस्य भट्टराईको काखमा राखिएकी बालिका दिप्ती श्रेष्ठलाई स्वास्थ्यकर्मीले दादुरा–रुवेला बिरुद्धको खोप लगाउदै अभियान शुरुवात गरिएको हो ।

नौँ महिनादेखि पाँच वर्ष मुनीका बालबालिकालाई नछुटाइ दादुरा–रुवेला बिरुद्धको खोप लगाउन दोश्रो चरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, रावाबेँसी गाउँपालिका, केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा दोस्रो चरणको अभियान एकैसाथ शुरु भएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पून्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । आगामी २३ गतेसम्म सञ्चालन हुने खोप अभियानमा सातवटा तहका १३ हजार बालबालिकालाई सहभागी गराइने प्रमुख सिग्देलको भनाइ छ ।

खोप अभियानलाई सफल बनाउन हरेक स्थानीय तहले खोप समन्वय समिति, सरोकारवाला लगायतसँग अन्तरक्रिया तथा छलफल गरेर पूर्व तयारी गरिसकेको छ । निःशुल्क पाइने खोपले बालबालिकाको जीवन रक्षा गर्ने भएकाले दादुरा–रुबेला बिरुद्धको खोप अभियानमा कुनै पनि बालबालिकालाई नछुटाउन जिल्लावासीलाई आग्रह गरिएको छ ।

यसअघि, गत फागुन–१ देखि ९ गतेसम्म खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा अभियान सञ्चालन गरिएको थियो । तीन पालिकामा लगभग पाँच हजार बालबालिकालाई दादुरा–रुवेला बिरुद्धको खोप लगाइएको छ ।

तपाईको प्रतिक्रिया