खोटाङ, १७ फागुन । जिल्लाकै सर्वाधिक ठूलो धनराशीको ‘बाक्सिला रनिङ गोल्डकप’को ११ औँ संस्करण फागुन २२ गतेबाट शुरु हुने भएको छ । मोफसलमा फुटबल खेलको व्यवसायिक विकास गर्ने लक्ष्यका साथ वि.सं. २०६१ सालमा स्थापित बाक्सिला फुटबल क्लवले आयोजना गर्दै आएको बाक्सिला रनिङ गोल्डकपको ११ औँ संस्करण फागुन–२६ गतेसम्म सञ्चालन हुने भएको हो ।
आयोजक बाक्सिला फुटबल क्लवले शनिबार दिक्तेलबजारस्थित उज्यालो क्याफेमा पत्रकार सम्मेलन गरेर ‘११ औँ केपिलासगढी बाक्सिला रनिङ गोल्डकप’को खेल तालिकासमेत सार्वजनिक गरेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारस्थित पृथ्वी माविको खेलमैदानमा सञ्चालन हुने गोल्डकपको विजेता टोलीले रु दुई लाख ११ को साथमा गोल्डकप, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले रु ९९ हजार ९११ नगदको साथमा मेडल र प्रमाणपत्र हात पार्ने क्लवका अध्यक्ष शिवकुमार राईले बताउनुभयो ।
ए डिभिजन लिगमा खेल्ने जिल्लाका छ वटा क्लव र दुई वटा आमन्त्रित क्लवगरि आठ टोलीको सहभागिता रहने प्रतियोगिताका सेमिफाईनलिस्ट दुई टोलीले जनही नगद रु २० हजार ११ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही नगद रु ११ हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव पवन श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिता अवधिभर उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई जनही रु पाँच हजार ११ प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा खारम्बु स्पोर्टस क्लव, बाक्सिला फुटबल क्लव, सोल्मा स्पोर्टस क्लव, नेर्पा स्पोर्टस क्लव, हलेसी तुवाचुङ स्पोर्टस क्लव, जन्तेढुङ्गा स्पोर्टस क्लव, खोटाङ भगवती स्पोर्टस क्लव र हलेसी खेलकुद विकास समितिबीचमा प्रतिष्पर्धा हुनेछ ।
१० औँ संस्करण सञ्चालनका क्रममा गत वर्ष निर्णायकमाथि हातपात गर्ने बुइपा इलाभेन स्पोर्टस् क्लव बुइपा र सो क्लवबाट खेल्ने खेलाडीलाई ११ औँ संस्करणमा सहभागी हुन प्रतिबन्ध गरिएको आयोजकले जनाएको छ । गोल्डकपका लागि केपिलासगढी गाउँपालिकाले रु पाँच लाख आर्थिक सहयोग गरेको जनाइएको छ ।
यसअघिसम्म ‘बाक्सिला रनिङ गोल्डकप’ नामबाट सञ्चालन हुँदै आएको गोल्डकपलाई रु पाँच लाखभन्दामाथि सहयोग गर्ने सङ्घसंस्थाको नाम क्लवको नामभन्दा अगाडि राख्ने निर्णय गरेअनुसार यसवर्ष ‘११ औँ केपिलासगढी बाक्सिला रनिङ गोल्डकप’ राखिएकोे जनाइएको छ । जिल्लाका खेलाडीलाई पहिलो प्राथमिकता दिइने प्रतियोगितामा सकेसम्म जिल्लाभित्रकै तथा बाहिरबाट भिकाउन परेमा बढीमा पाँच जना खेलाडी मात्र बाहिरी जिल्लाका सहभागी गराउन पाइने आयोजकले जनाएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा एक मात्र निरन्तर सञ्चालन हुँदै बाक्सिला रनिङ गोल्डकपको दशौँ संस्करण खारम्बु स्पोर्टस् क्लव खार्मीले चुमेको थियो । भगवती स्पोर्टस् क्लव खोटाङबजारलाई १ का बिरुद्ध २ गोल गर्दै खार्मीले उपाधि चुमेको हो ।
राष्ट्रिय खेलकुद परिषद (एन्फा)को सदस्यता पाएको जिल्ला फुटबल सङ्घ खोटाङमा दर्ता भएर दश वटा क्लव सञ्चालनमा छ । उक्त क्लवहरुले जिल्लामा विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ ।