खोटाङ, १८ फागुन । ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको पाँच दिने ‘प्रथम बहानेपोखरी महोत्सव २०७६’ सम्पन्न भएको छ । करीब ३० हजारले अवलोकन गर्ने र रु एक करोड बढीको कारोबार गर्ने लक्ष्य राखिएको महोत्सव मौषम प्रतिकुलताका कारण आठ हजारले मात्र अवलोकन गर्दा रु ४० लाखको कारोबार भएको आयोजक समितिका संयोजक गृहबहादुर राईले बताउनुभयो ।
प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले फागुन–१३ गते उद्घाटन गर्नुभएको महोत्सव ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित पर्यटकीयस्थल बहानेपोखरीमा आयोजना गरिएको थियो । पाँच दिने महोत्सवमा अर्गानिक कृषि उपज, स्थानीय खानाका परिकार लगायतको ३६ वटा स्टल राखिएको थियो ।
महोत्सव उद्घाटनपछि निरन्तर वर्षा भएकाले अवलोकनकर्ता कम आएको संयोजक राईले बताउनुभयो । महोत्सवका दौरान सहभागीले बहाने पोखरी अवलोकन, शङ्खेढुङ्गा, नागढुङ्गा, स्तुपा, हरियाली जङ्गल, हिमाली तथा मनोरम दृश्यावलोकन, चौरी तथा याकको अवलोकन, लालीगुराँस तथा चिमाल फुलको दृश्यावलोकन, घ्याङखर्क–साल्पापोखरी र सिलिचुङसम्मको पदयात्राको अनुभव लिएका छन् ।
महोत्सवको अवसरमा मिनि–म्याराथन, वडास्तरीय महिला÷पुरुष भलिबल, खुला पुरुष डबल ब्याटमिन्टन, खुला बुद्धिचाल, खुला लोकदोहोरी लगायत विभिन्न प्रतियोगिताको आयोजना गरिएको थियो । पर्यटनको सम्भावना रहेपनि ओझेलमा रहेको बहानेपोखरीबाट जिल्लाका अधिकांश स्थान, छिमेकी जिल्ला तथा तराई फाँटदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ ।
चारैतिर रमणीयडाँडाको बीचमा मुहान नदेखिने बहानेपोखरीमा जनै पूर्णिमा र मङ्सिर पूर्णिमाको दिन धामी झाँक्री सहितका दर्शनार्थीहरुको बाक्लो भीड लाग्ने गरेको छ । बहानेपोखरीका आसपासमा चौरी गाई, भेडा पालन र चरण भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिने भएकाले प्रवद्र्धन गर्न गाउँपालिकाको लगानीमा महोत्सवको आयोजना गरिएको जनाइएको छ ।
समुन्द्री सतहदेखि करीब दुई हजार ७०० मीटर उचाईमा अवस्थित प्राकृतिक रुपमै पर्यटकीयस्थल बहानेपोखरीमा नयाँ वर्ष लगायतका अवसरमा स्थानीयको बाक्लो भीड लाग्ने गरेको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । प्रायोजक तथा छिमेकी स्थानीय तहसँगको सहकार्यमा शुरु गरिएको महोस्तवका लागि सो गाउँपालिकाले रु १२ लाख बजेट विनियोजन गरेको थियो ।
पर्यटकीय सम्भावना भएपनि ओझेलमा रहेको बहानेपोखरी आसपास शेर्पा समुदायको घनाबस्ती छ । आगामी दिनमा उक्त शेर्पाबस्तीलाई घरबास (होमस्टे)का रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका प्रमुख निरौलाले बताउनुभयो ।