खोटाङ, केपिलासगढी गाउँपालिकास्थित बाक्सिलाबजारमा जारी ‘बाक्सिला गोल्डकप’को ११ औँ सँस्करणमा आयोजक बाक्सिला फुटबल क्लव र सोल्मा स्पोर्टस् क्लव फाइनलमा प्रवेश गरेको छ । आज शनिबार दिउसो भएको सेमिफाईनल खेलमा साबिक विजेता खारम्बु स्पोर्टस क्लवलाई शुन्यका विरुद्ध दुई गोल गर्दै आयोजक बाक्सिला फुटबल क्लव तथा हलेसी तुवाचुङ स्पोर्टस क्लवलाई दुईका विरुद्ध तीन गोल गर्दै सोल्मा स्पोर्टस क्लव फाइनल प्रवेश गरेको हो ।
जिल्लाकै सर्वाधिक ठूलो राशीको गोल्डकपको फाइनल खेल भोलि आइतबार हुने आयोक बाक्सिला फुटबल क्लवका अध्यक्ष शिवकुमार राईले बताउनुभयो । अध्यक्ष राईका अनुसार गोल्डकपको ११ औँ सँस्करण विजेता टोलीले नगद रु दुई लाख ११ को साथमा गोल्डकप, मेडल र प्रमाणपत्र हात पार्ने जनाइएको छ ।
प्रतियोगिताका उपविजेताले नगद रु ९९ हजार ९११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा सेमिफाईनलिस्ट दुई टोलीले जनही नगद रु २० हजार ११,२० हजार ११ को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फुटबल खेलको व्यवसायिक विकासको लक्ष्य लिएर वि.सं. २०६२ सालदेखि सञ्चालन हुँदैआएको प्रतियोगिताका बेष्ट प्लेयर र सर्वाधिक गोलकर्तालाई जनही नगद रु ११ हजार १११, बेष्ट गोलकिपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर र बेष्ट कोचलाई जनही नगद रु पाँच हजार ११ प्रदान गरिने जनाइएको छ ।
प्रतियोगितामा खारम्बु स्पोर्टस क्लव, बाक्सिला फुटबल क्लव, सोल्मा स्पोर्टस क्लव, नेर्पा स्पोर्टस क्लव, हलेसी तुवाचुङ स्पोर्टस क्लव, जन्तेढुङ्गा स्पोर्टस क्लव, खोटाङ भगवती स्पोर्टस क्लव र हलेसी खेलकुद विकास समितिको सहभागिता रहेको थियो । गोल्डकपका लागि केपिलासगढी गाउँपालिकाले रु पाँच लाख आर्थिक सहयोग गरेपछि क्लवले प्रतियोगिताको नाम ‘११ औँ केपिलासगढी बाक्सिला रनिङ गोल्डकप’ राखेको छ ।
जिल्लामा फुटबल खेलको व्यवसायिक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धन गर्न ‘बाक्सिला गोल्डकप’लाई निरन्तरता दिइएको आयोजक बाक्सिला फुटबल क्लवका सचिव पवन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई प्रोत्साहन स्वरुप जनही नगद रु २०,२० हजार उपलब्ध गराइएको जनाइएको छ ।
मोफसलमा फुटबलको व्यवसायिक विकासका लागि विगत १५ वर्ष अघि शुरु गरिएको ११ औँ सँस्करणको प्रतियोगिता फागुन २२ गते प्रतिनिधिसभा सदस्य एवम् नेकपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विशाल भट्टराईले उद्घाटन गर्नुभएको थियो । गोल्डकप उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य राजन राई, केपिलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राई, उपप्रमुख हीरादेवी वन, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल लगायतको उपस्थिति रहेको थियो ।
चन्दा सङ्कलन तथा दाताको सहयोगमा गोल्डकप सञ्चालन गर्दै आएको बाक्सिला फुटबल क्लवले जिल्लामा फुटबल खेलको विकास गर्न ठूलो टेवा पुयाएको प्रतिनिधिसभा सदस्य भट्टराईले बताउनुभयो । “फुटबल खेल अधिकांश दर्शकको रोजाइमा पर्दछ”, उहाँले भन्नुभयो, “जिल्लाकै एक मात्र गोल्डकप ‘बाक्सिला गोल्डकप’लाई आगामी दिनमा पनि निरन्तरता दिन आफ्नो क्षेत्रबाट सकेको सहयोग हुनेछ ।”
खेल मैदान अभावमा स्थानीय पृथ्वी माविको खेल मैदानमा सञ्चालन हुँदै आएको बाक्सिला गोल्डकप तथा विभिन्न प्रतियोगिता सञ्चालन गर्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको खेलमैदान निर्माणको काम थालिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । खेलमैदानका लागि स्थानीय छ जना दाताले ३३ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि बहुउद्देश्यीय खेलमैदान निर्माणको शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
पाँच वर्षभित्र सम्पन्न गर्नेगरि निर्माण शुरु गरिएको खेलमैदानका लागि सङ्घ तथा प्रदेश सरकारबाट रु एक करोड ३० लाख बजेट उपलब्ध प्राप्त भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । खेलमैदान निर्माण सम्पन्न गर्न रु ९२ करोडको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको छ ।