खोटाङमा रक्त सञ्चार केन्द्र सञ्चालन, सेना र प्रहरीको भर पर्नुपर्ने बाध्यता हट्यो

Halesi Khabar
0 Shares

खोटाङ, २५ फागुन । जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको चार कोठे भवनमा स्थापना गरिएको रक्त सञ्चार केन्द्र आज (आइतबार) सञ्चालनमा ल्याइएको हो

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको नेतृत्वमा सञ्चालन हुनेगरि स्थापना गरिएको रक्त सञ्चार केन्द्रका लागि जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, नगरप्रमुख दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका वडा सचिव सञ्जिव आचार्यले पहिलो पटक रक्तदान गर्नुभएको छ । चौबीसै घण्टा सञ्चालन हुने रक्त सञ्चार केन्द्रका लागि आवश्यक सामग्री नगरपालिका र अस्पतालको आर्थिक सहयोगमा खरिद गरेर जुटाइएको केन्द्रका संयोजक एवम् रेडक्रस खोटाङका मन्त्री छत्रकुमार बजिमयले बताउनुभयो ।

जिल्लामै पहिलो पटक स्थापना गरिएको रक्त सञ्चार केन्द्रका लागि चौबीसै घण्टा ड्युटी (काममा) रहनेगरि नगरपालिकाबाट तीन तथा अस्पतालबाट एक जना दक्ष कर्मचारी खटाइएको नगरप्रमुख रिजालले बताउनुभयो । “केन्द्रमा आवश्यक रगत जुटाउन गाउँगाउँमा रक्तदान शिविर सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो, “आगामी दिनमा कसैले पनि रगत अभावमा ज्यान गुमाउन तथा अन्यत्र जानुपर्ने छैन ।”

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित अस्पताल परिसरमा स्थापना गरिएको रक्त सञ्चार केन्द्रलाई थप प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग सम्झौता गरिएको जिल्ला शाखा खोटाङका सभापति कुमारसिं बस्नेतले बताउनुभयो । “रक्त सञ्चार केन्द्रलाई थप प्रभावकारी तथा निरन्तर सेवा दिने बनाउन भक्तपुर शाखाकासँग सात बुदँे सम्झौता गरिएको छ”, उहाँले भन्नुभयो, “दुई पक्षीय सम्झौता अनुसार यहाँ आवश्यक रगत भक्तपुरबाट ल्याउने र यहाँ सङ्कलन भएर खपत नभएको रगत भक्तपुर पठाउने सहमति भएको छ ।”

भक्तपुर शाखाका सभापति मनोजकुमार थापा र खोटाङ शाखाका सभापति बस्नेतबीच भएको सम्झौता अनुसार खोटाङमा जन्मिएर राजधानी काठमाडौँमा बसोवास गर्दै आएका व्यक्तिलाई रगत आवश्यक परेमा भक्तपुर शाखाले उपलब्ध गराउनेछ । यसका लागि जिल्ला शाखा खोटाङको सिफारिस अनिवार्य हुनुपर्ने सम्झौतामा उल्लेख छ ।

जिल्लाको एक मात्र अस्पतालमा यसअघिसम्म ब्लड बैङ्क (रक्त भण्डारण गृह) नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीले नेपाली सेना, सशस्त्र तथा जनपद प्रहरीको भर पर्नुपर्ने अवस्था रहेको थियो । जिल्लामा रक्त दान गर्ने व्यक्ति अधिक भएपनि भण्डारण गृह नहुँदा समस्या भएपछि रेडक्रको पहलमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको हो ।

दुई नगरपालिका र आठ गाउँपालिकागरि दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म एक मात्र पन्ध्र शैयाको अस्पताल सञ्चालनमा छ । पन्ध्र शैयाको अस्पताललाई स्तरोन्नति गरेर ५० शैयाको बनाउन विषयमा गत वर्ष नै मन्त्री परिषद्बाट निर्णय पारित भएपनि अहिलेसम्म काम अगाडि बढेको छैन ।

वि.सं. २०४८ सालमा स्थापना भएको अस्पतालमा उपयुक्त भौतिक पूर्वाधार र दक्ष जनशक्ति नहुँदा अधिकांश जटिल किसिमका बिरामीलाई बाहिरी जिल्ला रिफर गर्नुपर्ने बाध्यता रहेको छ । जिल्ला अस्पताल खोटाङमा अहिले प्रसुति सेवा सम्बन्धी मात्र शल्यक्रिया हुने गरेको वरिष्ठ मेडिकल अधिकृत रोशन ग्वाँछाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया