फेमिली केयर अस्पताल आगामी वैशाखबाट सञ्चालनमा आउने

Halesi Khabar
0 Shares

खोटाङ, ३० फागुन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित किराँत चौकमा स्थापना गरिएको फेमिली केयर अस्पताल आगामी वैशाखबाट सञ्चालनमा आउने भएको छ । काठमाडौँस्थित धुमबराहीमा सञ्चालन हुँदै आएको अस्पताल खोटाङको दिक्तेल बजारमा स्थानान्तरण गरिएको हो ।

५० शैयाको क्षमता रहनेगरि स्थापना गर्न लागिएको अस्पतालमा आगामी वैशाख दोस्रो साताबाट पहिलो चरण अन्तरगत १५ शैयामा सञ्चालन गर्ने तयारी गरिएको सञ्चालक समितिका अध्यक्ष डा. कृष्णकुमार राई ‘केके’ले बताउनुभयो । “अस्पताल सञ्चालनका लागि भवन र आवश्यक उपकरण जडान गरिसकिएको छ”, उहाँले भन्नुभयो, “वैशाख दोस्रो साताबाट विशेषज्ञ डाक्टर सहितको टोली ल्याएर सेवा शुरु गरिनेछ ।”

स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा भवन निर्माण गरेर सञ्चालन गर्न लागिएको अस्पतालमा आकस्मिक सेवा तथा हाडजोर्नी, दाँत, प्रसुति, बाल रोग, जनरल सेवा लगायत सबै किसिमको उपचार हुने जनाइएको छ । अस्पतालका लागि स्थानीय चन्द्रबहादुर केसी र उहाँकी श्रीमती सीता केसीले दुई रोपनी नौँ आना तथा मगनबहादुर कार्कीले पाँच आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ ।

अधिकांश रोगको सोही अस्पतालमा र गम्भीर किसिम (टाउको लगायत)का बिरामीलाई राजधानी काठमाडौँमा सञ्चालित अस्पतालसँगको सहकार्यमा उपचार गर्नेगरि खोटाङमा फेमिली केयर अस्पताल स्थापना गरिएको सञ्चालक समितिका अध्यक्ष डा. केकेले बताउनुभयो । “हामीले सरकारी अस्पतालसँग प्रतिस्पर्धा गर्न फेमिली केयर अस्पताल खोलेका हैनौँ”, उहाँले भन्नुभयो, “जिल्लामा सञ्चालित सरकारी तथा सामुदायिक अस्पतालसँग सहकार्य गरेर अगाडि बढ्ने छौँ ।”

आगामी दिनमा मेडिकल तथा नर्सिङ कलेज समेत सञ्चालन गर्ने लक्ष्यका साथ स्थापना गरिएको फेमिली केयर अस्पतालका लागि अहिले आवश्यक जनशक्ति व्यवस्थापन गर्ने काम भइरहेको सञ्चालक समितिले जनाएको छ । कान्तिपुर दैनिकमार्फत विज्ञापन प्रकाशन गरेर एम.डी.जी.पी. एक, अर्थो सर्जन एक, गाईनाकोलोजिस्ट एक, पिडियट्रिसियन एक, डेन्टल सर्जन एक, मेडिकल अफिसर तीन, हेल्थ असिस्टेन तीन, स्टाफ नर्स तीन, फार्मेसिस्ट दुई, रेडियो ग्राफर एक, ल्याब टेक्निसियन एक, ए.एन.एम्. तीन र ल्याब टेक्निसियन एक जना आव्हान गरिएको छ ।

कलेज सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेमा ५० रोपनी जग्गा व्यवस्थापन गरिएको सञ्चालक समितिका सदस्य जेबी राईले बताउनुभयो । काठमाडौँमा कार्यरत डाक्डर तथा खोटाङ जिल्लावासीको शेयर लगानीमा स्थापना गरिएको अस्पतालमा हालसम्म रु पाँच करोड भन्दा बढी लगानी भइसकेको अस्पताल सञ्चालक समितिले जनाएको छ ।

अस्पताल सञ्चालनका लागि राजधानी काठमाडौँ र खोटाङ जिल्लामा छुट्टाछुट्टै दुई वटा सञ्चालक समिति गठन गरिएको छ । खोटाङमा स्थानीय मकरध्वज राईको अध्यक्षतामा गठन गरिएको सञ्चालक समितिले भौतिक निर्माण, जग्गा व्यवस्थापन तथा शेयर सङ्कलनको काम गरिरहेको छ ।

जटिल किसिमका बिरामीको समेत जिल्लामै उपचार गर्नेगरि स्थापना गरिएको फेमिली केयर अस्पताल सञ्चालनमा आउने भएपछि जिल्लावासी हर्षित बनेका छन् । जिल्लावासीको आफ्नै शेयर लगानीमा शल्यक्रिया सहितको उपचार हुनेगरि स्थापना गरिएको अस्पताल सञ्चालनमा आउने भएपछि हर्षित भएका हुन् ।

दुई नगरपालिका र आठ गाउँपालिकागरि दश स्थानीय तह रहेको जिल्लामा अहिले १५ शैयाको एउटा सरकारी तथा दुई वटा सामुदायिक अस्पताल सञ्चालनमा छ । जिल्लामा सञ्चालित सरकारी तथा सामुदायिक अस्पतालमा उपयुक्त भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा दक्ष जनशक्ति नहुँदा अधिकांश जटिल किसिमका बिरामीलाई बाहिरी जिल्ला रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।

वि.सं. २०४८ सालमा स्थापना भएको अस्पतालमा अहिले प्रसुति सेवा सम्बन्धी मात्र शल्यक्रिया हुने गरेको छ । जटिल किसिमका बिरामीलाई लाखौँ खर्चेर हेलिकोप्टर तथा गाडी रिजर्भ गरेर थप उपचारका लागि बाहिर लानुपर्ने बाध्यता छ ।

तपाईको प्रतिक्रिया