हलेसी क्षेत्रका महिलालाई गाउँमै गर्भ जाँच गर्ने व्यवस्था

Halesi Khabar
0 Shares

खोटाङ, १ चैत । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका गर्भवती महिलाले गाउँमै गर्भ जाँच गर्न पाउने भएका छन् । गर्भमा रहेका बच्चाको अवस्था, श्वास–प्रश्वास, मुटुको गति, साथीको अवस्था, पानीको मात्रा लगायत गर्भवती र बच्चाको शारीरिक अवस्थाका विषयमा पूर्व जानकारी लिन नगरपालिकाले एक थान पोर्टेबल भिडियो एक्स–रे मेसिनको व्यवस्था गरेको हो ।

तालिका बनाएर प्रत्येक महिना नगरपालिकाका ११ वटै वडामा भिडियो एक्स–रे मेसिनसहित तालिम प्राप्त एक जना अनमी पुग्ने र वडामै गर्भवती महिलाको गर्भ जाँच गर्ने गरी स्वास्थ्य चौकी दुर्छिमलाई मेसिन हस्तान्तरण गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । “गर्भ जाँच गर्नकै लागि जिल्ला अस्पताल दिक्तेल अथवा ओखलढुङ्गा जानुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “मेसिन भएपछि वर्थिङ सेन्टरमा सुत्केरी गराउन सकिन्छ की सकिन्न भन्ने आधारभूत जानकारी लिन सकिने भएको छ । यसले अकालमा ज्यान गुमाउनुपर्ने महिलाको बाध्यता हटेको छ ।”

गर्भको बच्चाको अवस्थादेखि सम्भावित खतरा भए–नभएको विषय आफ्नै गाउँमा थाहा पाउने व्यवस्था भएपछि नगरपालिकाका महिला उत्साहित बनेका छन् । स्वास्थ्य चौकी दुर्छिमका एक जना अनमीलाई भिडियो एक्स–रे सम्बन्धी २१ दिनको तालिम दिएर भिडियो एक्स–रे मेसिन खरिद गरिएको जनाइएको छ ।

नगरपालिकामा वार्षिक अनुमानित ५५४ जना गर्भवती महिलाको गाउँमै पुगेर गर्भ जाँच गर्ने गरी भिडियो एक्स–रे मेसिन उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले लागू गरेको गर्भवती महिलाका लागि भिडियो एक्स–रे कार्यक्रम अन्तरगत गर्भवतीको गाउँमै पुगेर जाँच गर्ने व्यवस्था गरिएको हो ।

नगरपालिकाले उपलब्ध गराएको यूएसजी नामको भिडियो एक्स–रे मेसिन झोलामा बोकेर हिँड्न मिल्ने किसिमको रहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामकुमार भगतले बताउनुभयो । “ग्रामिण क्षेत्रका गर्भवती महिला र गर्भमा रहेका बच्चाको समग्र अवस्थाका विषयमा जानकारी लिन सजिलो भएको छ”, उहाँले भन्नुभयो, “मेसिनको सहायताले सामान्य रुपमा सुत्केरी हुने–नहुने विषय समेत पहिल्यै थाहा पाउन सकिने भएकाले खतरामा परेका गर्भवतीलाई तत्काल अन्यत्र रेफर गर्न सहज भएको छ ।”

धार्मिक तथा पर्यटकीयस्थल हलेसी क्षेत्रका गर्भवती महिलाका लागि तीन वर्षअघि वनहर्टले भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको थियो । वनहर्टले प्रदान गरेको मेसिन डेढ वर्षअघि बिग्रेको र तालिम प्राप्त स्वास्थ्यकर्मी पनि सरुवा भएर गएपछि नगरपालिकाले पुनः भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाका सबै स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर (प्रसुति गृह) सञ्चालन गरिएको छ । वर्थिङ सेन्टर सञ्चालनमा रहेपनि अहिलेसम्म भिडियो एक्स–रे मेसिन नहुँदा समस्या हुने गरेको थियो ।

तपाईको प्रतिक्रिया