चिसापानीमा ल्याण्डलाईन टेलिफोन सञ्चालन, पहिलो घण्टी प्रतिनिधिसभा सदस्यलाई

Halesi Khabar
0 Shares

खोटाङ, २ चैत । जन्तेढुङ्गा गाउँपालिकामा ल्याण्डलाईन टेलिफोन सञ्चालनमा ल्याइएको छ । चिसापानी बजारमा रहेको गाउँपालिकाको कार्यालयमा आइतबारदेखि नेपाल टेलिकमको ०३६–४२१०११ नम्बरको ल्याण्डलाईन टेलिफोन सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिका अध्यक्ष शंकर राईले प्रतिनिधिसभा सदस्य विशाल भट्टराईसँग सम्वाद गरेर सञ्चालनमा ल्याइएको गाउँपालिकाका सामाजिक विकास शाखाका संयोजक बिदुरमान राईले बताउनुभयो । पहल थालिएको झण्डै तीन वर्षपछि चिसापानीमा पहिलोपल्ट ल्याण्डलाईन टेलिफोनको पहुँच पुगेको हो ।

चिसापानी बजारमा ९५ सेवाग्राहीलाई ल्याण्डलाईन सेवा उपलब्ध गराउनेगरी काम टुंग्याइएको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख बच्चुराज खतिवडाले बताउनुभयो । चिसापानीमा तार टाँग्ने र पोल राख्ने काम भएको लामो समयपछि एमएसएएन एक्स्चेन्ज उपकरण (नम्बरिङ उपकरण) जडान गरेर ल्याण्डलाइन बिस्तार गरिएको हो ।

फोन र एडिएसएल इन्टरनेटको ‘रुट चार्जिङ’ गर्न केही दिन लाग्ने भएकाले त्यसपछि मात्र फोनका लागि ग्राहकले आवेदन दिन सक्ने टेलिकमले जनाएको छ । यसअघि दिक्तेलबजार, ऐसेलुखर्क, हलेसी, सिम्पानी, खोटाङबजार लगायतका ठाउँमा टेलिकमको ल्याण्डलाईन सेवा बिस्तार भइसकेको छ ।

चिसापानीमा ल्याण्डलाईन टेलिफोन सेवा सञ्चालन भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहनुभएका प्रतिनिधिसभा सदस्य भट्टराईले आफ्नो फेसबुक स्टाटसमार्फत यस्तो प्रतिक्रिया दिनुभएको छ । उहाँले लेख्नुभएको स्टाटस्मा भनिएको छ, “०३६–४२१०११ बाट एक्कासी फोनको घण्टी बज्यो । “हेलो माननीयज्यु नमस्कार !’’

अध्यक्ष संखर राई उत्साहित स्वरमा बोल्नुभो’’ धेरै समयको प्रतीक्षापछि चिसापानीबजारमा ल्याण्डलाईन फोन जडान गरियो, तपाईसँग बोलेर उदटन गराँउन खोजेको ’’ मैले भने, “लौ धन्यवाद अध्यक्ष ज्यु, तपाईहरु जन्तेढुङ्गावासी विशेषतः चिसापानीवासीलाई असिम बधाई ।’’

भट्टराईले लेख्नुभएको स्टाटसमा भनिएको छ, “यसबाट लामो समयदेखिको ईन्टरनेटको समस्याको समाधान हुनेछ, बैङ्क लगायतका कार्यालयहरुले आफ्नो काम सञ्चालन गर्नेछन् भने घरघरमा फोनसेवा उपलब्ध हुनेछ ।” सबै स्थानीयलाई हार्दिक बधाई !

तपाईको प्रतिक्रिया