पाथेकामा कोरोना भाइरसको हल्ला, बिरामी भनिएका व्यक्तिद्धारा स्वस्थ रहेको दाबी

Halesi Khabar
0 Shares

खोटाङ, २ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा कोरोना भाइरसको बिरामी भेटिएको हल्लाले जिल्लासावी नतावग्रस्त बनेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने पाथेकामा केहि दिनअघिदेखि नै उक्त हल्ला फैलिएको स्थानीयवासीले बताएका छन् ।

पाथेकामा फैलिएको हल्ला एकले अर्कोलाई सुनाउँदै जाँदा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा पनि आइपुगेपछि आज (आइतबार) अपरान्ह जिल्ला प्रशासन कार्यालय खोटाङमा सर्वदलीय भेला समेत डाकियो । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बोलाउनुभएको सर्वदलीय भेलामा सहभागी सबै तनावग्रस्त थिए ।

जब बिरामी भनिएका व्यक्तिलाई सम्पर्क गरेपछि उक्त हल्ला हल्ला मै मात्र सिमित बनेको छ । बिरामी भनिएका व्यक्तिले आफू स्वस्थ रहेको प्रतिक्रिया दिनुभएको प्रमुख जिल्ला अधिकारी शर्मा पौडेलले जानकारी दिनुभयो ।

बिरामी भनिएका व्यक्तिले गत फागुन–१४ गते चिनबाट नेपाल फर्किएका थिए । धरानस्थित ह्वाइट हाउस क्याम्पसमा होटल व्यवस्थापन अध्ययन गरेका उनी छ महिनाअघि प्राक्टिकल (व्यवहारिक शिक्षा)का लागि चिन गएका थिए ।

चिनमा कोरोना भाइरसको महामारी फैलिएपछि  उनलाई आफन्तले नेपाल फर्कन आग्रह गरेको बुझिएको छ । चिनको सान्यासिटीमा बसेर अध्ययन गर्दै आएका उनी एक वर्षका लागि त्यहाँ गएका थिए ।

चिनबाट नेपाल फर्कनुअघि सोही ठाउँमा र नेपाल फर्किएलगत्तै विमानस्थलमा जाँच गर्दा कुनै समस्या नदेखिएपछि आफू घर आएको उनले बताए । “चिनबाट घर आएपछि गाउँमा कोरोना भाइरस लिएर आयो भन्ने हल्ला फैलिएको रहेछ”, उनले भने, “अहिलेसम्म मलाई कुनै समस्या देखिएको छैन । परिवारलाई फोन गरेर दिग्दार लगाइरहेका रहेछन् । यसले परिवारमा ठूलो तनाव सिर्जना गरेको छ ।”

चिनबाट फर्किएका उनलाई भोलि (सोमबार) स्वास्थ्य परीक्षणका लागि अस्पताल बोलाइएको प्रजिअ शर्मा पौडेलले बताउनुभयो । “फोनमार्फत कुरा गरेकै आधारमा संक्रमण भएनभएको विश्वास गर्ने स्थिति छैन”, उहाँले भन्नुभयो, “घरमै रहेका उनलाई भीडभाडमा नजान र सरसफाइमा ख्याल गर्न भनिएको छ ।”

सर्वदलीय बैठकले संसारभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि जिल्लाका विभिन्न नाकामा स्वास्थ्य परीक्षण कक्ष स्थापना गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो । “जिल्लाका प्रमुख नाका जयरामघाट र फोक्सिङटारमा हेल्पडेक्स स्थापना गर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “हेल्पडेस्कका लागि आवश्यक सामग्री काठमाडौँबाट मगाइएको छ ।”

अस्पताल विकास समितिका संयोजक समेत रहनुभएका समन्वय समिति प्रमुख चाम्लिङले जिल्लामा अहिलेसम्म कुनै समस्या नदेखिएपनि सतर्क रहन जिल्लावासीलाई आग्रह गर्नुभएको छ । सर्वदलीय सर्वपक्षीय भेलामा नगरप्रमुख दिपनारायण रिजाल, जिल्ला स्वास्थ्य कार्यालय खोटाङका डा. सैलेश श्रेष्ठ, प्रहरी प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला व्यक्ति लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया