खोटाङ, ५ चैत । जिल्लामा केही दिनदेखि कोरोना भाइरसका बिरामी रहेको भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि भएको छ । चिनबाट फर्किएका उनी बिरामी रहेको भनेर गाउँमा अनावश्यक हल्ला फैलिएपछि आज (बुधबार) स्वास्थ्य परीक्षण गर्दा उनमा कुनै लक्षण नदेखिएको हो ।
बिरामी भनिएका व्यक्तिमा सामान्य ज्वरोसमेत नरहेको र उनी स्वस्थ रहेको स्वास्थ्य परीक्षणमा संलग्न जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डा. शैलेस श्रेष्ठले बताउनुभयो । “चिनबाट फर्किएका व्यक्ति भएकाले उनीमाथि सामान्य शंका हुनु स्वभाविक हो”, उहाँले भन्नुभयो, “तर उनको स्वास्थ्य परीक्षण गर्दा सामान्य ज्वरो समेत छैन । उनीमाथि कुनै शंका मान्नु पर्दैन ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका उनी गत फागुन–१४ गते नेपाल फर्किएका थिए । अध्ययनका क्रममा चिनको सान्यासिटीमा बसेर गाउँ फर्किएलगत्तै उनी बिरामी रहेको भन्ने अनावश्यक हल्ला जिल्लाभर फैलिएपछि परीक्षण गर्न स्वास्थ्यकर्मीसहितको टोली उनको गाउँ पुगेको हो ।
अस्पताल विकास समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नगरउपप्रमुख विणादेवी राई, प्रहरी नायब उपरीक्षक बामदेव गौतम, स्वास्थ्यकर्मी लगायतको टोलीले पीडित परिवारलाई भेटेका छन् । उनीहरुले मुलुकभर कोरोनाको संक्रमण फैलिएकाले सजकता अपनाउन र हल्लाको पछाडि नलाग्न पीडित परिवार र पाथेकावासीलाई आग्रह गरेका छन् ।
भेटघाटका क्रममा बिरामी भनिएका व्यक्तिका आफन्तले अनावश्यक हल्ला फैलाउने व्यक्ति पहिचान गरेर कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । उनीहरुले अनावश्यक हल्ला फैलिएको लामो समय बितिसक्दा पनि निराकरण गर्नमा सम्बन्धित निकायले चासो नदिएको भन्दै गुनासो समेत गरेका छन् ।
स्वास्थ्य परीक्षणका लागि जिल्लामा आवश्यक उपकरण नभएकाले काठमाडौँबाट झिकाउनुपर्दा ढिला भएको नगरप्रमुख रिजालले बताउनुभयो । “आवश्यक उपकरण नभएका कारण केही दिन ढिला हुन पुग्यो । त्यसमा हामी माफी चाहान्छौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा यस्ता अनावश्यक हल्ला गाउँघरमा फैलाउनेलाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउँछौँ ।”
जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने पाथेकामा फैलिएको हल्ला दिक्तेल बजारमा समेत पुगेपछि गत चैत–२ गते जिल्ला प्रशासन कार्यालय खोटाङले सर्वदलीय भेला समेत राखेको थियो । सर्वदलीय÷सर्वपक्षीय भेलालगत्तै जिल्लामा कोरोना भाइरसको संक्रमणबाट बँच्न पूर्वतयारी समेत थालिएको छ ।
जिल्ला समन्वय समिति खोटाङले पनि गत फागुन–२९ गते नै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर हल्लाको पछाडि नलाग्न र सजकता अपनाउन जिल्लावासीलाई आग्रह गरेको थियो । उसले जिल्लाका दश वटै स्थानीय तहलाई कोरोना सम्बन्धी सचेत रहन र गाउँगाउँमा गएर सचेतना फैलाउन पत्राचार समेत गरेको छ ।
जिल्लाका स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा कोरोना भाइरसको संक्रमणबाट बँच्ने उपायका बारेमा सचेतना गोष्ठीको आयोजना गरिरहेको छ । जिल्लामा आइपर्ने सम्भावित खतरालाई लक्षित गरेर प्रदेश तथा संघीय सरकार समक्ष आवश्यक बजेट समेत माग गरिएको जनाइएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को हल्ला फैलिएसँगै उपचारमा आउने बिरामीका लागि जिल्ला अस्पताल खोटाङमा आइसोलेसन वार्ड (छुट्टै उपचार कक्ष) समेत स्थापना गरिएको छ । कोरोनाका शंकास्पद बिरामी उपचार गराउन आएमा छुट्टै भर्ना गरेर उपचार गर्नका लागि अस्पतालले तीन शैयाको आइसोलेसन वार्ड स्थापना गरेको हो ।