कोभिड–१९ : दिक्तेल बजारमा ३६ शैयाको क्वारेन्टाइन निर्माण गरिने

Halesi Khabar
0 Shares

खोटाङ, १० चैत । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै खोटाङमा ३६ शैयाको क्वारेन्टाइन निर्माण गरिने भएको छ । जिल्ला समन्वय समिति खोटाङको कार्यालयमा आज (सोमबार) बसेको सरोकारवाला निकायको भेलाले दिक्तेल बजारस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटी खोटाङले क्वारेन्टाइन निर्माण गर्ने भएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले जानकारी दिनुभयो । क्वारेन्टाइन निर्माणसँगै जिल्लामा सञ्चालित एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।

यसअघि जिल्लाको एक मात्र अस्पताल दिक्तेलमा तीन शैयाको आइसोलेसन वार्ड (छुट्टै उपचार कक्ष) स्थापना गरिएको छ । अस्पतालमा निर्माण गरिएको आइसोलेसन वार्ड कम क्षमताको भएपछि ३६ शैयाको क्वारेन्टाइन निर्माण गर्न लागिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख चाम्लिङको संयोजकत्वमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम नियन्त्रण जिल्ला समन्वय समिति समेत गठन गरिएको छ । जिल्लाका दश वटौ स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशत्र प्रहरी, राष्ट्रिय अनुसन्धान, जिल्ला अस्पताल, रेडक्रस र उद्योग वाणिज्य सङ्घका प्रमुख तथा प्रतिनिधि सदस्य रहनेगरि समिति गठन गरिएको हो ।

यस्तै, जिल्ला समन्वय अधिकारी राजेश गिरीको संयोजकत्वमा तीन सदस्यीय सचिवालय समेत गठन गरिएको छ । सरोकारवाला निकायको बैठकले कोरोनाको चेकजाँच तथा रोकथामकाक्रममा प्रयोग गरिने व्यक्तिगत सुरक्षा सामग्री लगायत जुटाउन सङ्घ तथा प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा प्रवाहमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल शर्माले बताउनुभयो । “जिल्लास्थित सबै सरकारी कार्यालयमा सूचना टाँस गरेर अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गरिएको छ”, उहाँले भन्नुभयो, “दैनिक उपभोग्य वस्तुबाहेका अन्य पसलहरु सञ्चालन नगर्न समेत सबैमा अनुरोध गरिएको छ ।”

जिल्लाका दश वटै स्थानीय तहले आज (सोमबार)देखि अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गरिएको सूचना जारी गरेको छ । जिल्लास्थित स्थानीय प्रशासनले जिल्लामा हुने सभासम्मेलन तथा हाटबजार समेत रोक लगाएको छ ।

कोरोनाको संक्रमण एकपछि अर्को देशमा फैलँदै गएसँगै शहरबाट गाउँ फर्कनेक्रम बढेपछि जिल्लाका दश वटै स्थानीय तहले आ–आफ्नो क्षेत्र प्रवेश गर्ने मुख्य–मुख्य नाकामा हेल्थ डेस्क (स्वास्थ्य परीक्षण केन्द्र) स्थापना गरेर चौबीसै घण्टा सञ्चालनमा ल्याएको छ । जिल्लाका कतिपय स्थानीय तहले आफ्नो क्षेत्रमा आइसोलेसन वार्ड (छुट्टै उपचार कक्ष) समेत स्थापना गरेका छन् ।

जिल्लास्थित राजनीतिक दलले आफ्नो पूर्व निर्धारित कार्यक्रम समेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको विज्ञप्तिमार्फत जनाएको छ । सरकारी सेवा तथा हाटबजार समेत बन्द गरिएपछि जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा स्थानीयवासीको चहलपहल समेत कम हुँदै गएको छ ।

विश्वभरका भक्तजन तथा पर्यटक आवतजावत गर्ने खोटाङको हलेसी मन्दिरको पूजाआजा अनिश्चितकालीन बन्द गरिएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल मानिने हलेसीमा गत शनिबारदेखि अनिश्चितकालीन बन्द गरिएको हो ।

तपाईको प्रतिक्रिया