खोटाङ, १६ चैत । ऐसेलुखर्क गाउँपालिकाले प्रथामिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा दश शैयाको आइसोलेसन वार्ड (छुट्टै उपचार कक्ष) निर्माण गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आशंका गरिएका वा संक्रमण भएको पुष्टि भइसकेका व्यक्तिलाई राखेर उपचार गर्नेगरी गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन वार्ड निर्माण गरेको हो ।
ल्यावबाट प्रमाणित भइसकेका तथा लक्षणका आधारमा संक्रमणको आंशका गरेर प्रमाणित गर्न रिपोर्ट पठाइएका व्यक्तिलाई छुट्टै राखेर उपचार गर्नेगरि आइसोलेसन वार्ड बनाइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । जिल्ला अस्पताल दिक्तेलमा तीन शैयाको आइसोलेसन वार्ड तयार पारिएको केही समयपछि सो गाउँपालिकाले पनि दश शैयाको आइसोलेसन वार्ड निर्माण गरेको हो ।
यस्तै, ऐसेलुखर्क गाउँपालिकाले त्रिभुवन माविमा दश शैयाको क्वारेन्टाइन समेत निर्माण गरेको छ । कोरोना भाइरसको संक्रमण आशंका गरिएका व्यक्तिलाई राख्नेगरी विद्यालयको दुई वटा भवनमा क्वारेन्टाइन बनाइएको हो ।
यस बाहेक गाउँपालिकाका सात वटै वडामा पाँच÷पाँच शैयाको क्वारेन्टाइन समेत निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । कतिपय विद्यालय र कतिपय स्वास्थ्य चौकीमा क्वारेन्टान बनाइएको गाउँपालिकाले जनाएको छ ।
यसैबीच, हलेसी तुवाचुङ नगरपालिकामा ‘लकडाउन’लाई पूर्णरुपमा पालना गराउन सर्वदलीय निर्णय गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्ने सरकार चालेको प्रयासलाई फलदायी बनाउन नगरपालिकाले आयोजना गरेको सर्वदलीय÷सर्वपक्षीय बैठकले ‘लकडाउन’लाई पूर्णरुपमा पालना गराउन आ–आफ्नोतर्फबाट सहयोग पु¥याउने निर्णय गरेको हो ।
विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्ने एक मात्र उपाय ‘लकडाउन’कै पालना भएकाले यसलाई पूर्णरुपमा पालना गराउन नगरप्रमुख इवन राई संयोजकत्वमा नगरस्तरीय समन्वय समिति समेत गठन गरिएको छ । समितिको सदस्यमा ११ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, सबै स्वास्थ्यचौकीका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय हलेसीका प्रमुख र रेडक्रस प्रतिनिधि समावेश छन् ।
समितिका सदस्यले वडादेखि टोल–टोलसम्म ‘लकडाउन’को पालनाका लागि आ–आफ्नो संयन्त्र प्रयोग गर्ने तथा कोरोनाबाट बच्ने सावधानीका विषयका नागरिकलाई सचेत गराउने नगरप्रमुख राईले बताउनुभयो । कोरोनाको संक्रमण फैलिन नदिन गत चैत–१ गतेदेखि यता विदेशबाट फर्किएका नागरिकको पहिचान गरेर तथ्याङ्क सङ्कलन गर्ने लगायतका काम तीव्रगतिमा भइरहेको जनाइएको छ
दश स्थानीय तह रहेको खोटाङमा जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङको संयोजकत्वमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम नियन्त्रण जिल्ला समन्वय समिति समेत गठन गरिएको छ । जिल्लाका दश वटौ स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशत्र प्रहरी, राष्ट्रिय अनुसन्धान, जिल्ला अस्पताल, रेडक्रस र उद्योग वाणिज्य सङ्घका प्रमुख तथा प्रतिनिधि सदस्य रहनेगरि समिति गठन गरिएको हो ।