खोटाङ, २० चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले ‘लकडाउन’को अवधिको हर्जना छुट गर्ने भएका छन् । जिल्ला सहकारी सङ्घ र नगरपालिकाभित्रका सहकारीको आज बसेको संयुक्त बैठकले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’का कारण सहकारी संस्था बन्द रहेको अवधिको हर्जना छुट गर्ने निर्णय गरेको हो ।
हर्जना छुट पाउनका लागि ऋणीले ‘लकडाउन’ खुलेको १५ दिनभित्र किस्ता बुझाउनु पर्ने निर्णय भएको सक्रिया वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । बैठकले ऋण भुक्तानी गर्ने भाका ‘लकडाउन’ खुलेको मितिबाट एक महिना थप गर्ने, हाल भाका पुगेका ऋणको नवीकरण असार मसान्तसम्म गर्ने, ऋणीलाई नवीकरण सेवा शुल्कबापत २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।
‘लकडाउन’को मारमा परेका ग्राहकको सहुलियतका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गरेको आग्रह अनुसार नगरभित्रका सहकारीले नयाँ व्यवस्थाको निर्णय गरेको जिल्ला सहकारी सङ्घका अध्यक्ष अनिल जोशीले बताउनुभयो । “यस नगरपालिकाभित्र १२ वटा सहकारी संस्था क्रियाशील रहेका छन्”, उहाँले भन्नुभयो, “यो नगरपालिकाभित्र सञ्चालित १२ वटै सहकारीका साथैै जिल्लाभर सञ्चालित १६९ वटै सहकारी संस्थालाई चैतभरको हर्जना छुट दिन आग्रह गरिएको छ ।”
विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रणका लागि पूर्व तयारी थालेको नगरपालिकाले एक महिना (चैतभर)को घर तथा जग्गा भाडा समेत छुट गर्न घर तथा जग्गा धनीलाई आग्रह गरेको छ । लकडाउनको कारण मारमा परेका नगरावासीको लागि नगरपालिकाले यसअघि लिँदै आएको फोहरमैला व्यवस्थापन शुल्कमा चैत महिनाको शुल्क छुट दिने लगायतका दश बुदे निर्णय पारित गरेको छ ।
दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म आठ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । जिल्लाका हरेक स्थानीय तहले क्वारेन्टाइन निर्माण गरेपनि होम क्वारेन्टाइन नै उपयुक्त रहेको भन्दै विदेशबाट आएकालाई घरैमा बस्न छुट दिएपछि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको हो ।