खोटाङ, २४ चैत । कतारबाट नेपाल फर्किएका खोटाङका दुईमध्ये एक जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नभएको पुष्टि भएको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना सङ्क्रमण भएको पुष्टी भएपछि तिनै युवतीसँग कतारबाट काठमाडौँसम्मको यात्रा गरेका जन्तेढुङ्गा गाउँपालिका–३ का युवकको नमूना परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएको हो ।
धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा उनी स्वस्थ रहेको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयो । सँगै यात्रा गरेका युवतीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनलाई पनि सङ्क्रमण भएको आशंकामा उनको नमूना सङ्कलन गरेर परीक्षणका लागि चैत २१ गते राति धरान पु¥याइएको थियो ।
घर आएको १४ दिनभन्दा बढी बितिसकेको भए पनि सङ्क्रमण भए÷नभएको यकिन गर्न उनको स्वाब परीक्षणमा पठाइएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो । “कतिपय व्यक्तिमा बाहिर लक्षण नदेखिए पनि भित्र कोरोना भाइरस पोजिटिभ देखिएको उदाहरण छन्”, उहाँले भन्नुभयो, “उनी घर आएको लामो समयसम्म स्वस्थ नै रहेपनि सङ्क्रमण भए÷नभएको पुष्टि नभएकाले यकिन गर्न उनको स्वाब परीक्षणमा पठाइएको हो ।”
सोही जहाजबाट फर्किएका केपिलासगढी गाउँपालिकाका अर्का एक युवक भने धरानस्थित क्वारेन्टाइनमा राखिएका छन् । क्यूआर ६५२ कलसाईनको कतार एयरवेजमार्फत फर्किएकी युवतीलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनीसँगै नेपाल आएर जिल्ला भित्रिएका युवाका कारण सङ्क्रमणको त्रास छाएको थियो ।
यसैबीच, हलेसी तुवाचुङ नगरपालिकामा उदयपुरको कटारीस्थित आइसोलेसन वार्डबाट भागेका एकसहित नौँ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट नौँ दिनअघि भागेका ताप्ली गाउँपालिका–४ ठानागाउँका ३९ वर्षीय किर्तीमान नेपाली सहित उनका आफन्तलाई हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित स्वास्थ्यौकीको क्वारेन्टाइनमा राखिएको हो ।
किर्तीमानको सम्पर्कमा रहेका कारण दुई परिवारका आठ जना समेतलाई क्वारेन्टाइनमा राख्नु परेको नगरप्रमुख इवन राईले बताउनुभयो । भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कनेक्रममा कटारी आइसोलेसनमा राखिएको अवस्थामा चैत १४ गते भागेका नेपाली वडा नम्बर–५ दुर्छिमको हैदेमा फेला परेका हुन् ।
हैदेस्थित छोरीको घरमा आएर बसिरहेको जानकारीका आधारमा नेपाली र उनका आफन्तलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको जनाइएको छ । उनी तीन दिनअघि आफन्तको घरमा आइपुगेको बताइएको छ ।
नेपालीमा सामान्य बिरामी देखिएका कारण उनीसँगै थप आठ जनालाई समेत क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आएको नगरपालिकाले जनाएको छ । गत चैत १२ गते कटारी आइपुगेका नेपाली मोबाईल, लुगाफाटा, झोला अस्पतालमै छाडेर तीन दिन नबित्दै आइसोलेसनबाट भागेको अस्पताल स्रोतले बताएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा हलेसीको नौँसहित क्वारेन्टाइन बस्नेको सङ्ख्या १८ पुगेको छ । साकेलामा एक, केपिलासगढीमा दुई र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा छ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
क्वारेन्टाइनमा बस्ने सबैलाई सम्बन्धित स्थानीय तहले खाना, खाजासहित स्वास्थ्य सेवा उपलब्ध गराएको छ । यद्यपि, क्वारेन्टाइनमा बस्ने कसैको पनि अहिलेसम्म नमूना स्वाब परीक्षणमा भने पठाइएको छैन ।
विदेशबाट जिल्ला भित्रिनेको सङ्ख्या बढेपनि निर्माण गरिएका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या भने न्यून देखिएको छ । विदेशबाट फर्किएका व्यक्तिलाई स्थानीय तहका जनप्रतिनिधिले घरमै बस्न छुट दिएपछि क्वारेन्टाइन बस्नेको संख्या न्यून देखिएको हो ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ३०४ शैयाको क्वारेन्टाइन, १३ शैयाको आइसोलेसन वार्ड तथा २१ स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले लगाउने एन ९५ मास्क र इन्फारेट थर्मोमिटर अहिलेसम्म पनि प्राप्त नहुँदा समस्या भएको जनाइएको छ ।