खोटाङ, २४ चैत । नेपाल सरकारले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेपछि सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिनेको ओइरो लागेको छ । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिम्पानीस्थित बर्रे स्थायी घर भएका अधिकारीलाई मन्त्रिपरिषदको आज (सोमबार) बसेको बैठकले राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त गरेपछि उहाँका आफन्त तथा जिल्लावासीले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई तथा शुभकामना दिएका हुन् ।
सरकारबाट गभर्नरमा नियुक्त हुनुभएपछि खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई तथा खोटाङवासीले अधिकारीलाई बधाई तथा शुभकामना दिइरहेका छन् । “असाधारण व्यवसायिक क्षमता भएका, इमान्दारिता र निष्ठाका पर्याय तथा अनुभवका खानी महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु”, सदस्य भट्टराईले लेख्नुभएको फेसबुक स्टाटसमा भनिएको छ, “खोटाङको साधारण परिवार र परिवेशमा जन्मेर आफ्नै मेहनत र परिश्रमले महत्वपूर्ण जिम्मेवारीमा पुगेर कुशलता प्रदर्शन गर्दै आउनुभएका उहाँले गभर्नरको जिम्मेवारी अपेक्षा अनुरुप नै अब्बल ढङ्ले पूरा गर्ने कुरामा कुनै दुविधा छैन ।”
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहनुभएका सांसद भट्टराईले थप्नुभएको छ, “व्यक्ति छनोटमा बदनियत राखिन्छ भन्ने आम आरोपलाई यो नियुक्तीले खण्डन मात्रै गरेको छैन कि, इमानदारीता कायम राख्न सकियो भने सरकारले योग्यता अनुसारको जिम्मेवारी दिन्छ भन्ने कुरालाइ पनि प्रमाणित नै गरेको छ । नेपाल सरकार, विशेषत सम्माननीय प्रधानमन्त्री ज्यू र माननीय अर्थमन्त्री ज्यूलाई धन्यवाद । महाप्रसाद सरलाई असिम बधाई र शुभकामना दिन्छु ।”
अर्थमन्त्री युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले गरेको तीन जना नाममध्ये पहिलो स्थानमा रहनुभएका अधिकारीलाई गर्भनरमा नियुक्त गरेको छ । समितिले उहाँसहित चिन्तामणि सिवाकोटी र राजन खनालको नाम सिफारिस गरेको थियो ।
लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहनुभएका अधिकारी राष्ट्र बैङ्कमा २६ वर्ष बिताउनुभएको छ । पाँच वर्ष डेपुटी गभर्नर र कार्यकारी निर्देशकगरि २१ वर्षसम्म राष्ट्र बैङ्कमा उहाँले काम गर्नुभएको थियो ।
पाँच वर्षे डेपुटी गभर्नर पदबाट बाहिरिएपछि सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । खोटाङको दक्षिणी क्षेत्रमा जन्मनुभएका अधिकारीले भारतबाट चाटर्ड एकाउन्टेन्स अध्ययन पुरा गर्नुभएको छ ।
सन् १९९४ मा राष्ट्र बैङ्कका उपनिर्देशक भइसक्नुभएका अधिकारीको कार्यकाल पाँच वर्षको रहनेछ । नवनियुक्त गभर्नर अधिकारीले खोटाङको सिम्पानी माविबाट वि.सं. २०३८ सालमा एसएलसी उत्तिर्ण गर्नुभएको हो ।