खोटाङ, ४ वैशाख । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका जनप्रतिनिधिले आफूले राज्यबाट पाउने तीन महिनाको सेवासुविधा वापतको रकम गरीब, असहाय तथा अतिबिपन्न परिवारलाई राहतस्वरुप प्रदान गर्ने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन लागू गरिएको लकडाउनका कारण बिहान÷बेलुका हातमुख जोड्न नपाएका अतिबिपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न खरिद गरेर प्रदान गर्ने निर्णय गरिएको वडाध्यक्ष लोकेन्द्र राईले जानकारी दिनुभयो ।
वडा जनप्रतिनिधिको अभियानमा सोही स्थानमा जन्मनुभएका जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर विश्वकर्माले साँढे एक महिनाको सेवासुविधा जम्मा गर्ने घोषणा गर्नुभएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने बतासेका अधिकांश स्थानीय बासिन्दा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने गरेकामा लकडाउनका कारण ज्यालादारी काम गर्न नपाउँदा समस्यामा परेकाले राज्यबाट आफूले पाउने सेवासुविधा वापतको रकम राहतस्वरुप प्रदान गर्ने निर्णय गरिएको जनप्रतिनिधिहरुले बताएका छन् ।
राज्यबाट आफूहरुले पाउने सेवासुविधा वापतको रकमले चामल, दाल, नुन र खानेतेल खरिद गरेर प्रदान गरिने वडाध्यक्ष राईले बताउनुभयो । यसअघि उक्त वडाका १४९ घरपरिवारलाई गाउँपालिकाले राहत उपलब्ध गराएको थियो ।
जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधिले पनि राज्यबाट आफूले पाउने सेवासुविधा वापतको रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरिरहेका छन् । उता, हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले आफ्नै व्यक्तिगत खर्चमा खाद्यान्न खरिद गरेर बिपन्न परिवारलाई वितरण गर्नुभएको छ ।