‘लकडाउन’मा घर फर्किएकाहरु माछा मार्न र डाँडा घुम्नमा व्यस्त

Halesi Khabar
0 Shares

खोटाङ, ५ वैशाख । ‘लकडाउन’ लागू हुनुअघि तथा लागू भएपछि घर फर्किएका जिल्लाका अधिकांश युवा खोलामा गएर माछा मार्न तथा डाँडा घुम्नमा व्यस्त देखिएका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारद्धारा आव्हान गरिएको ‘लकडाउन’को अवधिमा घर फर्किएका युवा भेला भएर खोलामा माछा मार्न तथा हुल बाँधेर डाँडा घुम्न जाने गरेको पाइएको हो ।

अध्ययन एवम् रोजगारीको सिलसिलामा देश तथा विदेश बसेकाहरु ‘लकडाउन’का कारण गाउँ फर्किएपछि आ–आफ्नो गाउँका स्थानीय बासिन्दासँग भेला भएर माछा मार्ने, डाँडा घुम्ने र तस्वीर खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने अधिक देखिन थालेका छन् । जिल्लाको रावा खोला, ताप खोला, मेवा खोला, सावा खोला, तावा खोला लगायत विभिन्न खोलामा माछा मार्ने क्रम बढेको पाइएको छ ।

कतिपयले दुवाली छेकेर, जाल हानेर र पासो थापेर माछा मारेको देखिए पनि कतिपयले भने जैविक विविधतालाई नै असर पुग्नेगरी करेन्ट तथा बिष हालेर माछा मारेको गुनासो आउन थालेको छ । स्थानीय खोलामा करेन्ट लगाएर, बिष हालेर वा जिलेटिन पड्काएर माछा मार्न बर्जित गरिएपनि ‘लकडाउन’को अवधिमा कतिपय खोलामा पर्यावरणलाई असर पुग्नेगरी माछा मार्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका हुन् ।

खोलामा प्राकृतिक सन्तुलनलाई असर पुग्नेगरी माछा मारिएको विषयमा कतिपय स्थानीय तह अहिलेसम्म पनि बेखबर देखिएका छन् । खोलामा करेन्ट लगाएर माछा मार्नेको सङ्ख्या बढेपछि केपिलासगढी गाउँपालिकाले कारबाही गर्ने चेतावनी दिएको छ ।

‘लकडाउन’ भएको मौका पारेर स्थानीय रावा, रेनु तथा तापखोलामा करेन्ट लगाएर माछा मार्ने गरेको गुनासो आएपछि जैविक विविधतालाई खलल पु¥याउनेगरी माछा मार्ने व्यक्तिलाई कडा कारबाही गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो । “दुवाली छेकेर, जाल हानेर, ढडिया, पासो र बल्छी थापेर माछा मार्न पाइए पनि खोलामा करेन्ट, बिष र जिलेटिन प्रयोग गर्न बर्जित गरिएको छ”, उहाँले भन्नुभयो, “भरपर्दो र सही जानकारी दिने व्यक्तिको नाम गोप्य राखेर सूचनादातालाई गाउँपालिकाको तर्फबाट रु दुई हजार पुरस्कार प्रदान गरिने छ ।”

स्थानीय खोलामा करेन्ट लगाएर माछा मारिरहेको सूचना दिएपछि प्रहरी पुग्दा माछा मार्ने समूह केहीबेर भाग्ने र पुनः फर्केर माछा मार्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् । लकडाउनको अवधिमा पनि खुलेआम रुपमा स्थानीय खोलमा करेन्ट लगाएर माछा मार्ने काम रोक लगाउन प्रहरी प्रशासनलाई आग्रह गरिएपनि सुनुवाइ नभएको रावाबेँसी गाउँपालिका–६ हौँचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताउनुभयो ।

लकडाउनको अवधिमा अत्यावश्यक काम बाहेक हिँडहुल नगर्न सरकारले आग्रह गरेपनि जिल्लका अधिकांश स्थानीय तहका स्थानीय बासिन्दाले उलङ्घन गरेको पाइएको छ । जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुमा अहिले दैनिकजसो हुलका हुल गएर वनभोज (पिकनिक) खाँदै डुलीरहेका भेटिन्छन् ।

सरकारले लागू गरेको लकडाउन जिल्लाका बजार क्षेत्रमासमेत प्रभावकारी रुपमा कार्यान्वयन भएको देखिएको छैन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा काम नै नभएका व्यक्तिहरु पनि ओहोर÷दोहोर गरिरहेका हुन्छन् ।

कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले औषधि तथा दैनिक उपभोग्यवस्तु खरिद गर्न बाहेक अरुमा कडाइ गर्न प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका संयोजक शालिग्राम शर्मा पौडेलले बताउनुभयो । “औषधि तथा दैनिक उपभोग्यवस्तु खरिद गर्दासमेत सामाजिक दूरी कायम गरेर मात्र कारोबार गराउन प्रहरीलाई भनिएको छ”, उहाँले भन्नुभयो, “लकडाउन उलङ्घन गरेर माछा मार्ने र डाँडा डुल्नेलाई प्रहरीले खोजी–खोजी कारवाही गर्नेछ ।”

यतिसम्म कि जिल्ला प्रशासन कार्यालयबाट पास (अनुमति) लिएका सवारी साधनसमेत मनोरञ्जनका काममा प्रयोग गरेको पाइएको छ । एउटा प्रयोजनका लागि भनेर प्रशासनबाट सवारी पास लिने र अर्कै प्रयोजनमा प्रयोग गर्ने गरेको पाइएको हो ।

जिल्लाका केही स्थानीय तहका बासिन्दा भने सामाजिक काममा सक्रिय बनेका छन् । रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित चिउरीबासका स्थानीय बासिन्दा दैनिक भेला भएर सडक तथा बाटो सरसफाइमा व्यस्त छन् ।

तपाईको प्रतिक्रिया