खोटाङ, ६ वैशाख । खोटाङसँग सिमाना जोडिएको उदयपुर जिल्लामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमित फेला परेपछि नाकामा कडाइ गरिएको छ । छिमेकी जिल्लामा शुक्रबार १२ जना कोरोना सङ्क्रमित एकैसाथ फेला परेसँगै खोटाङ र उदयपुर आवतजावत गर्ने नाकामा कडाइ गरिएको हो ।
उदयपुर जिल्लासँगको सिधा आवत–जावतका कारण खोटाङमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलने सम्भावना बढेकाले रसुवाघाट, फोक्सिङटार, बुवाँजोरघाट, धाप्लाङघाट लगायत दर्जन बढी नाकामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका संयोजक शालिग्राम शर्मा पौडेलले बताउनुभयो । “आवत–जावतमा कडाइ गर्न उदयपुर र खोटाङ जोड्ने नाकामा प्रहरी परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, “कोरोना भाइरस फैलिन सक्ने खतरालाई ध्यानमा राखेर केही दिन खाद्यान्न तथा तरकारी ढुवानीका साधनसमेत सञ्चालनमा रोक लगाइएको छ ।”
गम्भीर किसिमका बिरामीको लागि औषधि उपचार बाहेक अन्य काममा हुने सिधा आवत–जावतमा कडाइ गरिएको प्रजिअ पौडेलले बताउनुभएको छ । नाकामा हुने आवत–जावतमा कडाइ गर्न माथिल्लो क्षेत्रमा रहेका प्रहरी चौकीका सुरक्षाकर्मीलाईसमेत परिचालन गर्ने तयारी गरिएको जनाइएको छ ।
राजधानी काठमाडौँ लगायतका शहरबाट भित्रिने र बाहिरिने मुख्य नाकाकारुपमा रहेको जयरामघाटमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । यस बाहेक उदयपुरको सिमाना नजिक पर्ने रेग्मिटार, रमाईलो, रसुवाघाट, चमेरेघाट, बङ्शिलाघाट, कम्पुघाट, धाप्लाङघाट लगायतमा स्थानीय प्रहरी चौकीबाट टोली परिचालन गरिएको जनाइएको छ ।
छिकेमी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमित फेला परेसँगै खोटाङमा पनि सङ्क्रमण फैलिन सक्ने त्रास बढेको छ । छिमेकी जिल्लामा कोरोना सङ्क्रमित फेला परेसँगै हलेसी तुवाचुङ नगरपालिकाले उदयपुरसँगको नाकामा हुने आवत–जावतमा रोक लगाउन सबै वडा कार्यालयलाई निर्देशन दिएको छ ।
छिमेकी जिल्ला प्रवेश गर्ने नाकासँगै एउटा वडाबाट अर्को वडामा ओहोर–दोहोर गर्नसमेत रोक लगाउन प्रत्येक वडालाई पत्राचार गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । “लकडाउन लागू भएपछि अधिकांश मानिस गाउँ फर्किएका छन्”, उहाँले भन्नुभयो, “पछिल्लो समय शहरभन्दा गाउँ असुरक्षित भएकाले एउटा वडाबाट अर्को वडामा ओहोर–दोहोर गर्नमा रोक लगाउन भनिएको हो ।”
यसैबीच, हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न कामका सिलसिलामा जिल्लाभन्दा बाहिर गएर बसिरहेको अवस्थामा गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका नगरबासीलाई घरसम्म ल्याउने भएको छ । नगरपालिकामा गठित नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय समितिको शुक्रबार बसेको बैठकले विभिन्न कामका सिलसिलामा काठमाडौँ, बिराटनगर लगायतका ठाउँमा पुगेको अवस्थामा ‘लकडाउन’ हुँदा मारमा परेका नगरबासीलाई संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरेर घर ल्याउने तयारी थालेको हो ।
अहिले बसिरहेको ठाउँमा आयमुलक काम गर्न नपाएको तथा घर आउन पनि नपाएको गुनासो आएकाले उनीहरुलाई नगरपालिकाले घरसम्म ल्याएर होम क्वारेन्टाइनमा राख्ने तयारी गरिएको नगर प्रमुख राईले बताउनुभयो । बाहिरी जिल्लामा अलपत्र परेका नगरबासीलाई गाडी पठाएर घर ल्याउने तयारी थालिएको हो ।
दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमित भेटिएका छैनन् । विदेशबाट फर्किएका ५५ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ देखिएको जिल्ला स्वास्थ्य खोटाङ खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभयो ।